‘कान्छी’ को सफलता र सांगीतिक यात्रा: गायक आयुष मगरसँग छोटो गफगाफ
काठमाडौँ ।पछिल्लो समय युवा पुस्ताका श्रोतामाझ एउटा नाम निकै सुनिने गरेको छ— आयुष मगर। “माया पनि बसेकै थियो”, “लैजाने छु तिमीलाई” हुँदै हालै सार्वजनिक भएको “कान्छी” सम्म आइपुग्दा उनले डिजिटल प्लेटफर्ममा लाखौँ भ्युज मात्र कमाएका छैनन्, नेपाली पप र आधुनिक संगीतमा आफ्नो बलियो उपस्थिति पनि जनाएका छन्। रुकुमदेखि अमेरिकासम्मको यात्रा र संगीतका भित्री कुराहरू समेटेर हामीले आयुषसँग गरेको एउटा रफ-एन्ड-टफ कुराकानी:
१. ‘कान्छी’ ले युट्युबमा २४ लाखभन्दा बढी भ्युज क्रस गरिसक्यो, अरू गीतहरू पनि उत्तिकै हिट छन्। डिजिटल प्लेटफर्ममा पाइरहेको यो क्रेजलाई कसरी हेरिरहनुभएको छ?
साँच्चै भन्नुपर्दा, एकदमै खुसी र आभारी छु। हामीले काम गर्दा त आफ्नो शतप्रतिशत दिएर राम्रो बनाउने प्रयास मात्र गर्ने हो, तर श्रोता-दर्शकले त्यसलाई कसरी लिनुहुन्छ भन्ने कुरा सधैँ कौतुहलताकै विषय हुन्छ। २४ लाखभन्दा बढी भ्युज भनेको मेरो लागि एउटा नम्बर मात्र होइन, त्यो त दर्शकको माया र भरोसा हो। यसले अझ राम्रो काम गर्नुपर्छ भन्ने एउटा ठुलो जिम्मेवारी थपिदिएको फिल भएको छ।
२. रुकुमको माटोदेखि अमेरिकासम्मको यात्रा तय गर्नुभयो। नेपालभन्दा टाढा रहेर संगीत सिर्जना गर्दा कत्तिको गाह्रो हुँदो रहेछ? भावनाहरूमा केही परिवर्तन आउने रहेछ कि?
भौगोलिक रूपमा टाढा हुनुको आफ्नै चुनौती त पक्कै छन्। तर, एउटा कुरा के रहेछ भने नि— नेपालबाट जति टाढा भइन्छ, देशको, घरको सम्झना र माया अझ गाढा हुने रहेछ। मेरो गीतहरूमा जुन घरको न्यास्रो, माया, दूरी र इमोसनहरू सुन्नुहुन्छ, त्यो कता न कता मेरो आफ्नै भोगाइ र तिर्सना पनि हो। प्रविधिले गर्दा अहिले काम गर्न त सजिलो छ, तर डायस्पोरामा बसेर नेपालीपनलाई जोगाइराख्नु र त्यसलाई संगीतमार्फत प्रस्तुत गर्नु मेरो लागि एउटा छुट्टै थेरापी जस्तै हो।
३. तपाईंका म्युजिक भिडियोहरू हेर्दा गीत मात्र होइन, एउटा सिङ्गो सिनेमा हेरेजस्तो लाग्छ। अडियोसँगै भिजुअललाई पनि यति धेरै महत्त्व दिनुको विशेष कारण केही छ?
मलाई सुरुदेखि नै के लाग्थ्यो भने, गीत भनेको कानले सुन्ने मात्र होइन, आँखाले महसुस गर्ने चिज पनि हो। जबसम्म अडियो र भिजुअलको पर्फेक्ट सिङ्क हुँदैन, तबसम्म गीतको मर्म श्रोताको मुटुसम्म पुग्दैन जस्तो लाग्छ। त्यसैले म एउटा स्टोरीटेलरका रूपमा पनि काम गर्न रुचाउँछु। हाम्रा भिडियोहरूलाई छोटो चलचित्र जस्तै बनाउन खोज्नुको कारण नै त्यही हो— जसले गर्दा दर्शकले गीतको भावनालाई अझ गहिरिएर बुझ्न र कनेक्ट गर्न सकून्।
४. तपाईं आफैँ लेख्नुहुन्छ, संगीत भर्नुहुन्छ र गाउनुहुन्छ पनि। यो ‘अल-इन-वान’ हुनुको फाइदा के छ? कहिलेकाहीँ क्रिएटिभ प्रेसर हुँदैन?
प्रेसर त हुन्छ नि (हास्दै)। तर यसको सबैभन्दा ठुलो फाइदा चाहिँ के हो भने, मेरो दिमागमा जुन धुन वा भावना खेलिरहेको हुन्छ, त्यसलाई शब्द र स्वरमा उतार्न अरू कसैलाई सम्झाइरहनु पर्दैन। सिर्जनाको सुरुदेखि अन्तिमसम्म एउटै भिजन कायम रहन्छ। तर हो, कहिलेकाहीँ आफैँले आफैँलाई जज गर्दा गाह्रो चाहिँ हुन्छ। त्यस्तो बेला टिम र नजिकका साथीहरूको फिडब्याक लिने गर्छु।
५. अब अन्तिममा, आयुष मगरलाई माया गर्ने र तपाईंको नयाँ संगीतको पर्खाइमा बस्ने श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
तपाईंहरू हुनुहुन्छ र त म छु। रुकुमको एउटा ठिटो आज यहाँसम्म पुग्नु र मेरो आवाजलाई तपाईंहरूले आफ्नै कथा सम्झिएर सुनिदिनु नै मेरो सबैभन्दा ठुलो उपलब्धि हो। म अझै धेरै नयाँ नयाँ प्रयोगहरू गर्दैछु, केही नयाँ गीतहरूमा काम भइरहेको छ। यसरी नै माया र साथ दिइराख्नुहोला, म कहिल्यै निराश बनाउने छैन। थ्याङ्क यू सो मच!


