इतिहासकै उत्कृष्ट काम गर्दै सरकार अगाडि बढेको छ : प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै कामलाई अगाडि बढाएको बताएका छन् ।

सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको उल्लेख गर्दै उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको बताए ।

नेकपा(माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको तीनमहिने जनतासँग रुपान्तरण अभियानको उद्घाटन गर्दै उनले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको बताए ।

प्रधानमन्त्रीले भने, ‘हामी आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन सकेका छैनौँ, यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ ।’

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिन जस्ता कामले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै मिटरब्याज पीडितका पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षामा ल्याइएको उनको भनाइ छ ।

राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र सामाजिक न्यायका क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

यस्तै जनयुद्धका सहिद घोषणालाई राजपत्रमा प्रकाशन गर्नु र बाँकी रहेकालाई सहिद घोषणा, जनयुद्ध दिवसमा दिइएको सार्वजनिक बिदालगायतका निर्णयले राजनीतिक आन्दोलन र परिवर्तनमा योगदान गर्नेको सम्मान भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

उहाँले लघुवित्त पीडितको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयमा पठाइएको, किसानलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, विपन्न र असहायका निम्ति निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधारलगायतका कामले सरकारको सङ्कल्प र प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको बताए ।

वित्तीय तथा मौद्रिक नीतिको सन्तुलनमार्फत निजी क्षेत्रलाई समेत विश्वासमा लिइ सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको उनले जानकारी दिए । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *