लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए ।
उनले भने, ‘विपक्षी ज्युहरुले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको छ । आज वर्तमान राजनीतिक परिस्थिति असामान्य छ । दुनियाँलाई थाहा छ लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहित नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढंगले गहन संवादको माध्यमबाट कुटनीतिक प्रक्रियाबाट हुनुपर्दछ ।’
उनले नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको र वीर गोर्खालीहरूको देशका नागरिकले सधैं स्वाभिमानका साथ जीवन बिताएको उल्लेख गरे । यस क्रममा उनले स्वर्गीय गायक गोपाल योञ्जनको चर्चित गीत उद्धृत गर्दै नेपालीहरूको राष्ट्रिय भावना, स्वाभिमान र स्वतन्त्रताको चेतनाबारे चर्चा गरे ।
उनले भने, ‘म त्यो देशको नागरिक हुँ, जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन । म जान्दछु, मेरो देश वीर गोर्खालीको देश हो, जुन दुनियाँमा कहिल्यै कसैको सामु पनि झुकेन । हामी सबैले बाल्यकालदेखि सुन्दै आएको अत्यन्तै कर्णप्रिय र अत्यन्तै लोकप्रिय गायक गोपाल योञ्जनज्यूको गीत हामीले सुनिराखेका छौँ, जो राष्ट्रिय भावनाले ओतप्रोत पनि छ । ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज छोपिन्न, घोटिएर हातपाउ झरिझाऊन् औँला, तर कोहीको अगाडि यी हात जोडिन्न । बनेको छ पहराले यो छाती मेरो…।’ मैले यति भन्यो भने सायद राष्ट्रप्रति हाम्रो संवेदनशीलता यहाँनिर छ्याप्छ्याप्ती पोखिएको छ, जोडिएको छ ।’
सांसद आङदेम्बेले नेपाली आमाको गर्भबाट जन्मिने हरेक सन्तानले सगरमाथाजस्तै उच्च स्वाभिमान बोकेर बाँच्ने बताए । उनले हालै प्रधानमन्त्रीबाट आएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि प्रश्न उठाउँदै छिमेकी मुलुकले सीमा मिचेको विषय र नेपालले पनि मिचेको जस्तो अभिव्यक्ति दिनु उपयुक्त नभएको टिप्पणी गरे ।
उनले भने, ‘नेपाली आमाको गर्भबाट हिजो जन्मिएका या भविष्यमा जन्मिने प्रत्येक बच्चा मानिस शिरमा स्वाभिमान बोकेर बाँच्नेछन् । सगरमाथा मात्रै होइन, सगरमाथाजस्तै स्वाभिमान बोकेर बाँच्नेछन् । आज गोपाल योञ्जन हुनुहुन्थ्यो भने हाम्रो देशले छिमेकीको सिमाना मिचेको छ भनेर गर्वका साथ सार्वजनिक रूपमा अभिव्यक्ति दिने प्रधानमन्त्रीको भनाइ सुनेर के भन्नुहुन्थ्यो होला ? उनले पनि मिचे, हामीले पनि मिच्यौँ, के हिसाब बराबर भन्न खोज्नुभएको हो प्रधानमन्त्रीले ? सांसद आङदेम्बेले सीमा विवादजस्ता विषयको समाधान भावनात्मक प्रतिक्रिया वा उत्तेजनाले नभई गम्भीर संवाद, आपसी समझदारी र कूटनीतिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिए ।


