जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।
शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्किनुका साथै केही परिवार विस्थापित भएका छन् । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ ।
पहिरोमा परी भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा साउन ३१ गते बिहान ४:५० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यसअघि भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा बिहान ८:५५ बजे मृत फेला परेका थिए ।
घटनामा भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ ।
आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई साउन ३१ गते बिहान ७:१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।
भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।
यस्तै, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदराको टाउकोमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
पहिरोबाट जोगिन भाग्ने क्रममा भेरी नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ की करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज भएका छन् ।
पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिस बस्दै आएका थिएनन् ।
पहिरोको जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ ।
यस्तै, झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनालाई गरी थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध रहेकाले सुरक्षाकर्मीले जोखिमका बीच पैदलमार्फत घटनास्थल पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै विस्थापित परिवारको व्यवस्थापन र थप क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ ।
