देउवा १२:४५ मा अवतरण हुँदै, एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग
काठमाडौं । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ ।
देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ । जेनजी आन्दोलन नेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवामाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ । वक्तव्यमा वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी र मेलम्चीलगायत विभिन्न प्रकरणको समेत उल्लेख गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने बताइएको छ ।
‘कानुन सबैका लागि बराबर हो भने देउवालाई विमानस्थलबाटै कानुनबमोजिम नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइनुपर्छ,’ वक्तव्यमा भनिएको छ । जेनजी आन्दोलन नेपालले सरकारले राजनीतिक संरक्षणका नाममा अनुसन्धान प्रभावित गर्न खोजे त्यसको प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ । आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको र हजारौँ युवा घाइते भएको उल्लेख गर्दै वक्तव्यमा पुरानो दण्डहीनता दोहोरिए जनविश्वास थप कमजोर हुने चेतावनी दिइएको छ ।
देउवा नेपाल फर्किने क्रममा रहेको भन्दै जेनजी पक्षले आज ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आफ्ना समर्थकलाई आह्वान गरेको छ । विमानस्थलमा शान्तिपूर्ण रूपमा उपस्थित भएर सरकारमाथि निष्पक्ष अनुसन्धानका लागि दबाब दिने उनीहरूको भनाइ छ ।
देउवा थाई एयरलाइन्सको उडानबाट आज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछन् । अध्यागमनस्रोतका अनुसार विमान १२:४५ को समयमा अवतरण हुने पूर्वनिर्धारित तालिका छ ।
यसैबीच, सरकारले विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको बताइएको छ। प्रहरीका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि उनको बासस्थान महाराजगञ्ज, चुनादेवीसम्म सुरक्षा सहित (एस्कर्ट) जाने व्यवस्था मिलाइएको छ । चर्चा भएजस्तो धरपकडको कुनै योजना नभएको प्रहरी स्रोतले बताएको छ ।
