मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गरेका छन् ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त एकाइ स्थापना गरिएको हो ।
उक्त एकाइले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ ।
नवगठित एकाइको संयोजकका रूपमा प्रशासन महाशाखाका सहसचिव रहनेछन् । त्यसैगरी कार्यक्रम, बजेट तथा अनुगमन, जलस्रोत, ऊर्जा, विकास सहायता तथा प्रादेशिक समन्वय, जल तथा मौसम, तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिवहरू सदस्य रहने व्यवस्था गरिएको छ । सूचना तथा जनसम्पर्क शाखाका उपसचिवले एकाइको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
एकाइले विशेषगरी ‘डेलिभरी–आधारित शासन प्रणाली’ अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समयसीमाभित्र सम्पन्न भए/नभएको, जिम्मेवार अधिकारीहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे÷नगरेको तथा कार्यसम्पादन सूचकहरूको कार्यान्वयन अवस्था कस्तो रहेको छ भन्ने विषयमा निगरानी गर्नेछ ।
यसका अतिरिक्त कर्मचारीहरूको कार्यविवरणअनुसार कामको प्रगति, कानुनी समयसीमाको पालना, तथा सरकारी स्रोत साधनको सदुपयोगको अवस्थाबारे पनि मूल्याङ्कन गर्ने छ ।
मन्त्रालयले यस एकाइमार्फत् कार्यशैलीमा सुधार ल्याउने, जवाफदेहिता बढाउने र सुशासन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।


