रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता : रास्वपाले माग्यो सरकारको गम्भीर ध्यानाकर्षण

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको प्रभावकारी खोजी तथा उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

‘यस विपद्मा परी अकालमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको प्रभावकारी खोजी कार्यका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पछिल्लो २४ घण्टामा रोल्पालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा राज्यको भूमिका उद्धारमा मात्र सीमित हुन नहुने बताइएको छ ।

रास्वपाले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विपद् आइसकेपछि मात्रै राज्य संयन्त्र तात्ने र पूर्व तयारीमा सधैं चुक्ने पुरानो परम्परागत तथा फितलो कार्यशैलीकै कारण आम नागरिकले बर्सेनी यसरी नै ज्यान गुमाउनु परिरहेको तथ्यबाट पाठ सिकेर विपद् जोखिम न्यूनीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार अझ बढी जिम्मेवार र जवाफदेही बन्नु पर्दछ ।’

निरन्तरको वर्षाका कारण सडक सञ्जाल तथा बस्तीहरू जोखिममा रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन रास्वपाले नागरिकलाई अपिल गरेको छ।

विपद्को समयमा राज्य नागरिकको अभिभावक बनेर उभिनुपर्ने भन्दै रास्वपाले पार्टीको संयन्त्रलाई विपद्पूर्व तयारी तथा विपद्पछिको उद्धार र राहत कार्यमा राज्यका संयन्त्रलाई सहयोग गर्न चौबीसै घण्टा तयार रहनसमेत आग्रह गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *