नयाँ घर बनाउने ‘निम्सदाई’को सपना अधुरै, शोकमा डुब्यो गाउँ

No ads found for this position
No ads found for this position

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएपछि जन्मथलोका आफन्त, साथीभाइ र गाउँलेहरू स्तब्ध बनेका छन् ।

निर्मलकी आफन्त कमला केसीले चार दिनसम्म सकुशल फर्किने आशामा बसे पनि अन्ततः त्यो आशा निराशामा बदलिएको बताइन् । उनले दुई वर्षअघि दाना आएका निर्मलले पुरानो पुर्ख्यौली जग्गामा मौलिक शैलीको घर बनाउने योजना सुनाएको स्मरण गर्दै त्यो सपना अधुरै रहेको बताइन् ।

निर्मलका बाल्यकालका साथी तथा अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले सानैदेखि साहसी, जिद्दी र लक्ष्यप्रति दृढ स्वभावका कारण निर्मलले विश्व पर्वतारोहणमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएको बताए ।

अन्नपूर्ण आधार शिविरमा भरियाका लागि आश्रयस्थल निर्माण गर्ने योजना पनि उनले बनाएका थिए ।

निम्स फाउन्डेशनमार्फत दानाका विद्यालयमा छात्रवृत्ति, शैक्षिक सामग्री वितरण तथा पर्यटन र स्वास्थ्य क्षेत्रमा सहयोगका योजना अघि बढेका थिए ।

निर्मलको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ भने गाउँपालिकाले उनको शालिक निर्माण गर्ने घोषणा गरेको छ । दानावासीले पनि उनको ‘अस्तु’ जन्मथलोमा सेलाएर स्थायी सम्झनाका रूपमा शालिक स्थापना गर्नुपर्ने माग गरेका छन् ।

ब्रिटिश गोर्खा सैनिकबाट विश्वप्रसिद्ध पर्वतारोही बनेका निर्मल पुर्जाले विश्वका १४ वटा आठहजार हिमाल सबैभन्दा छिटो आरोहणसहित अनेकौं कीर्तिमान कायम गरेका थिए । जन्मथलोमै घर बनाउने सपना अधुरै भए पनि उनले छोडेको साहस, प्रेरणा र योगदान भने दानासँगै सिंगो नेपालका लागि सधैं अमर रहनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *