नयाँ स्वरूपमा हँसाउन आउँदै इकु, कलाकारको हितमा सधैँ लागिरहने प्रतिबद्धता
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको २१ औं अधिवेशनबाट कार्यसमिति सदस्य पदमा निर्वाचित कलाकार, निर्माता तथा निर्देशक सुलेमान शंकर ‘इकु’ ले बुधवार पदभार ग्रहण तथा प्रमाणपत्र लिएका छन् ।
कलाकारितासँगै विभिन्न समाजसेवा र सङ्गठनमा पनि सक्रिय भूमिकाका रूपमा रहेका कार्यसमिति सदस्य ‘इकु’ले बुधवार चलचित्र विकास बोर्डको कार्यालयमा प्रमाणपत्र लिएका हुन् ।
‘इकु’ नामबाट कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका उनले कलाकार संघको तर्फबाट आफ्नो कार्यकाल भर कलाकारहरूको हितको लागि अवरात्र खटेर काम गर्ने प्रतिबद्धता जनाए ।
इकुले भने, ‘मैले जानेको भनेको कलाकारिता हो । कलाकारहरूको समस्या र कठिनाइका बारेमा म राम्रो जानकार छु । उनीहरूको हितको लागि म र मेरो प्यानलको तर्फबाट अवरात्र खटेर काम गर्ने छु ।’
यस्तै इकुले आफ्ना फ्यान र दर्शककोलागि चाँडै फरक पात्रको रूपमा नयाँ कमेडी कार्यक्रम लिएर आउने बताए ।
इकुले भने, ‘पछिल्लो समय म केही नयाँ गरौं भन्ने सोचमा थिए । आम दर्शक र मेरा शुभचिन्तकहरूले पनि म केही समय पर्दामा नआउँदा खोजी रहनु भएको छ । कतिले त मलाई फोन र म्यासेजबाट पनि सोधिरहनु हुन्छ । दर्शकहरूको यो मायालाई उच्च सम्मान गर्दै म चाँडै नयाँ भूमिका र पुरै फरक किसिमको कार्यक्रम लिएर चाँडै आउँदैछु । कार्यक्रम कहिले बाट आउने भन्ने म चाँडै मेरा दर्शक र फ्यानहरूलाई भन्ने नै छु । यसमा मलाई दर्शकले इकु भन्दा विलकुल फरक पात्रको रूपमा देख्न पाउनु हुनेछ र यो कार्यक्रम नागरिकप्रेसडटकम मार्फत लिएर आउने छु ।’
यस्तै उनले यो कार्यक्रमसँगै नयाँ फिल्मको तयारी पनि गरिरहेको बताए । उनले भने, ‘मेरो क्षेत्र भनेको कलाकारिता हो । मलाई आम दर्शकले चिन्नु भएको पनि कलाकारिता बाटै हो । दर्शक मेरा भगवान हुन् । त्यसैले म दर्शकलाई निराशा बनाउन चाहन्न । तपाईँहरूले मलाइ अब चाँडै नयाँ भूमिका र पात्रको रूपमा देख्नुहुने छ । अब यो प्रतीक्षाको समय धेरै छैन ।’
हास्य शृङ्खला मेरी बास्सैबाट इकु नामले चर्चित बनेका उनले दाइको ससुराली, कुसुमे रुमाल २, गुरुदक्षिणा, रेश, हिरो रिटन्र्स, सम्बोधन, ईकु एक र दुई र फिर्के, १२ गाउँ लगायत दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

नेपाल चलचित्र कलाकार संघको २१ औं अधिवेशनबाट इकु सविन श्रेष्ठ नेतृत्वको प्यानलबाट विजयी भएका थिए । संघको अध्यक्षमा उत्तम केसी विजयी भएका छन् भने महिला उपाध्यक्षमा पूजना प्रधान, उपाध्यक्षमा शिवहरि बैरागी, महासचिवमा सुनील कटवाल र सचिवमा गोपाल ढकाल विजयी भएका छन् ।


