गोरखापत्र संस्थान, प्रेस काउन्सिल र पीएसबी नेतृत्वका लागि दरखास्त खुल्यो

No ads found for this position
No ads found for this position

काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र संस्थान, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का लागि प्रमुख पदहरूमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य व्यक्तिको छनोट गर्न दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार जारी गरेको गोरखापत्र संस्थानको महाप्रबन्धक, सूचनाअनुसार प्रेस काउन्सिल नेपालको अध्यक्ष र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आह्वान गरिएको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति २०८३ जेठ १८ गते सोमबार (कार्यालय समयभित्र) तोकिएको छ । यी पदहरूमा विगतमा राजनीतिक नियुक्ति भएका व्यक्तिहरूलाई अध्यादेशमार्फत पदमुक्त गरिएपछि नयाँ प्रक्रिया अघि बढाइएको हो ।

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि संस्थानको ऐन तथा सम्बन्धित कार्यविधि बमोजिम प्रकाशन–सञ्चार क्षेत्रमा व्यवस्थापकीय अनुभव भएको, तोकिएको शैक्षिक योग्यता र उमेर सीमा (सामान्यतः ३० वर्ष पूरा भएको तर ६५ वर्ष ननाघेको) पुगेका व्यक्ति योग्य हुन्छन् । यो पद संस्थानको दैनिक प्रशासनिक सञ्चालन, समग्र व्यवस्थापन र नीति कार्यान्वयनको नेतृत्व गर्ने महत्वपूर्ण भूमिका हो ।

प्रेस काउन्सिल अध्यक्ष पदका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश, वरिष्ठ अधिवक्ता वा पत्रकारिता तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरू योग्य मानिन्छन् । अध्यक्षको पदावधि चार वर्षको हुन्छ । यो पदले नेपालमा पत्रकारिताको मर्यादा, नैतिकता र स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ ।

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ अनुसार स्नातक तह उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, सूचना प्रविधि वा प्रसारणसम्बन्धी इन्जिनियरिङ क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको व्यक्ति संस्थाको अध्यक्ष बन्न योग्य हुन्छन् । यो संस्थाले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समेट्छ र सार्वजनिक सेवा प्रसारणको नीतिगत तथा कार्यकारी नेतृत्व गर्ने जिम्मेवारी यो पदमा रहन्छ ।

मन्त्रालयले सबै पदका लागि प्रतिस्पर्धात्मक छनोट प्रक्रिया अपनाउने जनाएको छ । इच्छुक उम्मेदवारले दरखास्त फाराम, आवश्यक योग्यता मापदण्ड, संलग्न गर्नुपर्ने कागजात र विस्तृत सूचना सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *