जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी गराए।

उनका अनुसार दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत र केदारस्युँ गाउँपालिका–७ की इमला महत धामीको मृत्यु भएको हो।

सांसद महरले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनले दुर्घटनामा करिब १२ जना घाइते भएको र तीमध्ये ८ जना गम्भीर अवस्थामा रहेको बताए।

दुर्गम क्षेत्र भएकाले घाइतेलाई सडकमार्गबाट उद्धार गर्न लामो समय लाग्ने अवस्था रहेकाले सरकारले हेलिकप्टरमार्फत उद्धार गरेको भन्दै उनले सरकारलाई धन्यवाद दिए।

‘नेपाल सरकारले तत्काल हेलिकप्टरको व्यवस्था गरेर घाइतेको उद्धार गर्न सहयोग गर्‍यो। त्यसका लागि नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।

उनले अहिले केही घाइतेको काठमाडौंस्थित ट्रमा अस्पताल र केहीको नेपालगन्जमा उपचार भइरहेको जानकारी दिँदै उनीहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गराए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *