हेटौंडा–पथलैया खण्डको बस्तीमा डोजर चल्यो, ७० बढी होटल व्यवसायी विस्थापित

No ads found for this position
No ads found for this position

रौतहट । त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनुपरेको जानकारी दिए। वन कार्यालयका अनुसार सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत नै यो कदम चालिएको हो ।

यसअघि पटक–पटक माइकिङ र लिखित सूचना टाँस गरेर आग्रह गर्दा पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको वन कार्यालयको दाबी छ ।

यता विस्थापित व्यवसायीहरूले भने राज्यले आफूहरूमाथि अन्याय र दमन गरेको आरोप लगाएका छन् । दुई हप्ताअघि सडक विभागले जारी गरेको सूचनाका आधारमा आफूहरूले त्रिभुवन राजपथको दुवैतर्फ २५/२५ मिटरको सडक सीमा आफैं खाली गरिसकेको उनीहरूको भनाइ छ ।

सडक सीमाभन्दा बाहिर व्यवसाय गरिरहेकै अवस्थामा एक्कासि डोजर चलाइएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

विगत २०४५ सालदेखि सोही स्थानमा व्यवसाय गर्दै आएका स्थानीयले राज्यले कुनै समय नै नदिई ज्यादतीपूर्ण तरिकाले हटाएको गुनासो गरे । सडकको क्षेत्राधिकार बाहिर रहेका टहरा समेत भत्काइँदा ठूलो क्षति भएको उनीहरूको दाबी छ ।

त्रिभुवन राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि भरपर्दो विश्रामस्थल र ‘हब’का रूपमा परिचित ३ नम्बर पुल क्षेत्रमा ७० भन्दा बढी होटलहरू सञ्चालनमा थिए ।

वर्षौंदेखि चल्दै आएको यो बजार पूर्ण रूपमा खाली गराइएपछि वर्षौंदेखि आश्रित स्थानीय परिवारहरूको रोजीरोटी गुमेको छ । अचानक व्यवसाय खोसिएपछि उनीहरू आफ्नो जीविकोपार्जनलाई लिएर गम्भीर चिन्तामा परेका छन् ।

वन कार्यालयले भने सार्वजनिक तथा संरक्षित क्षेत्र अतिक्रमण गर्ने कार्य कानुन विपरीत हुने भन्दै आगामी दिनमा पनि यस्ता अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइने स्पष्ट पारेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *