‘लालीबजार’ मुद्दाको सुनुवाइ बुधवार हुने
काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधवारका लागि सारिएको छ । उच्च अदालत पाटनका न्यायाधीश गिता प्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको छ ।
मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधबारलाई छलफलमा बोलाएको छ ।
१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको, निर्देशक यम थापाको उक्त फिल्म अदालतको आदेशपछि रोकिएको थियो । भोलि बुधबार हुने सुनुवाइमा पेश गरिने सेन्सर कपीका आधारमा फिल्मको प्रदर्शनबारे निर्णय हुनेछ ।
आमा र छोरीको कथामा आधारित फिल्म ‘लालीबजार’ कुनै समुदाय विशेषलाई लक्षित गर्दै भावनामा ठेस पुग्ने संवाद र दृश्य नभएको जानकारी दिँदै सार्वजनिक पत्रकार सम्मेलनमा बादी अभियन्ताले तारिफ गरेका थिए ।
निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरिरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।


