बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति
बाजुरा । बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति भएको छ । हिजो साँझ तिर आएको वर्षात सँगैको हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षति पुयाएको हो ।
बाजुरा जिल्लाको जगन्नाथ गा.पा. २ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो गई भेडा र बाख्रा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले दिएको जानकारी अनुसार, जगन्नाथ गा.पा. २ माथिल्लो हुनी बस्ने चैन बहादुर विष्टका ५४ वटा बाख्रा मध्ये पहिरोमा परी २ वटा मृत फेला र ९ वटा बेपत्ता भएका छन् ।
त्यस्तै अमृत ल्वारका ५६ वटा बाख्रा मध्ये पहिरोमा परी ३ वटा मृत फेला र १४ वटा बेपत्ता भएको बताए । त्यस्तै राज बहादुर विष्टका ४० वटा भेडा मध्ये पहिरोमा परी ५ वटा मृत फेला र १० वटा बेपत्ता भएका हुन् । भने ऐन बहादुर विष्टका ९५ वटा भेडा मध्ये पहिरोमा परी ३ वटा मृत फेला र ५ वटा बेपत्ता भएका छन्।त्यस्तै हिजो साँझ करिब ६ बजेतिर त्रिवेणी न.पा. वडा नं. ९ खोयाका कुल बहादुर साउँदको बाख्रा गोठ नजिकै मेलको रुखमा चट्याङ पर्दा गोठमा भएको ३ वटा बाख्राको मृत्यु भएको हो ।
खप्तड छेडे दह गा.पा. १ काट्या तलगाँउ बस्ने बिरे रावलको पसल हावाहुरीले उडाएको हो । हावाहुरीबाट निजको काठ र जस्तापाताले बनेको भुईतले पसल उडाई पसलमा रहेका जुता चप्पल, कपडा र कपडा सिलाउने मेसिनमा क्षति भएको र मानवीय क्षेती भने केही नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


