आजबाट ट्रम्पले ‘होर्मुज’ नाकाबन्दी गर्दै, चीनलाई ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी
काठमाडौं । अमेरिकाले आजदेखि ‘स्ट्रेट अफ होर्मुज’ मा नाकाबन्दी लागू गरि इरानको तेल बिक्री रोक्ने तयारी गरेको छ। नेपाली समय अनुसार आज साँझ ७:४५ बजेदेखि इरानका बन्दरगाहहरूतर्फ आउने-जाने सम्पूर्ण जहाजहरू पूर्ण रुपमा बन्द गर्ने भएको छ।
अमेरिकाले ‘स्ट्रेट अफ होर्मुज’ नाकाबन्दीको घोषणा गरेसँगै यसको असर तुरुन्तै देखिन थालेको छ। यस समुद्री मार्गबाट जहाजहरूको आवतजावत लगभग ठप्प भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दीको उद्देश्य इरानको तेल बिक्री रोक्नु रहेको र धेरै देशहरूले आफ्नो यो कदमलाई साथ दिएको बताएका छन्। ट्रम्पले १५८ जहाजहरू ध्वस्त पारिएको र इरानको सैन्य शक्तिमा ठूलो क्षति पुगेको दाबीगरेका छन्।
यसैबीच वाल स्ट्रीट जर्नलको रिपोर्टमा पाकिस्तानमा भएको वार्ता विफल भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य हमला गर्ने विषयमा पनि ट्रम्पले विचार गरिरहेको जनाइएको छ। ह्वाइट हाउसले स्पष्ट पारेको छ कि सबै विकल्पहरू खुला छन् र अवस्था अनुसार अगाडिको निर्णय लिइने उसले जनाएको छ।
यस्तै ट्रम्पले इरानलाई चीनले सहयोग गरिरहेको दावि गरेका छन्। उनले एए अन्तर्वार्तामा भनेका छन्-‘यदि चीन इरानलाई सैन्य मद्दत गरिरहेको अवस्थामा समातियो भने, उसमाथि ५० प्रतिशतसम्म ट्यारिफ लगाइने छ।’
ट्रम्पले भनेका छन् कि अमेरिका ‘लक्ड एण्ड लोडेड’ छ, अर्थात् पूर्ण रूपमा तयार छ। जब सही समय आउनेछ, अमेरिकी सेनाले इरानमाथि कारबाही गर्न सक्छ।


