तापक्रम माइनस १६ डिग्री भएपछि मनाङका धारा र खोलामा पानी जम्यो

No ads found for this position
No ads found for this position

मनाङ- जाडो बढेसँगै मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस ८ देखि १० को हाराहारीमा भए पनि राति माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएकाले यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।

लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्न मुस्किल हुन थालेको छ ।’

चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न लगाएको बताए ।

पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, ‘चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नाप जाँच, परीक्षणको काम गरिरहेका छौँ ।’

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।

चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका-३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *