कांग्रेसले यस्तो अराजक प्रधानमन्त्री प्रचण्डलाई बोकेर हिँड्न सक्दैन: शेखर कोईराला

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठ्यारो स्थितिबाट अघि बढी रहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरे ।

कोईरालाले भने, ‘देश अत्यन्त अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ। जताततै अराजकता छ। यो राजनीतिको अराजकता भन्नुस्, आर्थिक अराजकता भन्नुस्, सामाजिक, धार्मिक अब हुँदाहुँदा कूटनीतिक अराजकता पनि देशमा आइसक्यो । सम्हाल्ने कसले ? नेपाली कांग्रेस बाहेक नेपालमा कुनै पनि लोकतान्त्रिक पार्टी छैन, जसले सम्हाल्न सक्छ । तपाईंहरु चिन्तित हुनुहुन्छ । अन्य पार्टीहरुको पनि कुरा गर्नुभयो यहाँ । हामी सच्चियौँ, सुध्रियौँ, हामीले गाउँमा आफ्ना साथीलाई सम्झाउन सक्यौँ भने हामीलाइ कसैलाई हराउन सक्दैन ।’

उनले कांग्रेसमा हामी एक ढिक्का हुन जरुरी रहेको बताए । हामी एक्लै चुनाव लड्नुपर्छ । कोईरालाले भने, ‘त्यसका लागि गोरखा कांग्रेस एक ढिक्का हुन जरुरी छ । देश अराजकतामा गइरहेको छ । देशको प्रधानमन्त्री भन्न त हुँदैन, गोरखाबाटै जितेर प्रधानमन्त्री हुनुभएको छ । देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ । उहाँ देशको, तपाईं हाम्रो प्रधानमन्त्री हो की उहाँ एउटा पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने उहाँले जे बोलेपनि हुन्छ । तर देशको प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवार कुरा गर्न मिल्दैन । उहाँ २०८४ मा मलाई भोट देउ, माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो । कुनै पनि जाति विशेष नेपाल छैन, बहुजातिय, बहुभाषिक छ । त्यसैले जातीय राज्य दिन सकिँदैन । त्यस्तै गैर जिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरूको लागि दुर्भाग्य हो । हाम्रो लागि दुर्भाग्य हो ।’

कुनै पनि तरिकामा देश ठिक ढंगले अघि नबढेको उनले बताए ।  त्यसैले यो सरकार सच्चिनुपर्छ । कोईरालाले भने, ‘सच्चिन सक्दैन भने  छोड्नुपर्छ । अर्को विकल्प छैन । कांग्रेसले मात्रै यी अराजकताहरूलाई समाप्त गर्न सक्छ ।’

नेता कोईरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *