मुलुक नालायक र लफङ्गाहरूबाट शासित हुँदै छः घनश्याम भुसाल
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले मुलुक पहिलेदेखि नै नालायकहरूबाट शासित भएको भए पनि निर्वाचनपछि लफङ्गाहरूबाट शासित हुन पुगेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले उक्त अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भए पनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेकोसमेत बताए।
उनले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको बताए।
मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डलाग्दा राजनीतिक दुर्घटनाहरू बढ्ने जोखिम बढेको उनको भनाइ छ। उनले सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढ्यो भने के हुन्छ? भन्दै प्रश्न गरे।
उनले भने, ‘मैले फागुन २१ को दिन सबै साथीहरूलाई भेटेपछि निष्कर्ष के निकालेँ भने मुलुक नालायकहरुबाट त शासित छँदै थियो, अब लफंगाहरूबाट शासित हुने भयो भनेर भिडियो नै राखेको थिएँ। तर त्यसमा गलत साबित हुन पाउँ भनेर पनि भनेको थिएँ। तर यहाँ साढे चार महिना जति बित्यो। आज जे देखिएको छ त्यसले अझ डरलाग्दो क्षति र थप राजनीतिक दुर्घटनाहरू घट्ने जोखिम छ।’
