दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !
एजेन्सी । दैनिक फलफूलको रस वा स्मुदी एक गिलास पिउनाले मानसिक स्वास्थ्यमा केही सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ ।
चार हप्तासम्म गरिएको एउटा सानो अध्ययन अनुसार स्वस्थ आहारका रुपमा फलफुलको जुसमा केही मिसावट नगरी सेवन गर्नाले डिप्रेसनका लक्षणको स्कोर उल्लेखनीय रूपमा कम भएको देखाएको छ ।
सामान्य आहारमा गरिएको यस्तो सरल परिवर्तनले मानसिक स्वास्थ्यलाई पनि सहयोग गर्न सक्ने संकेत गरेको हो ।
बेलायतको न्यूकास्टल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको उक्त अध्ययनले दैनिक एक गिलास सय प्रतिशत फलफूलको रस वा स्मुदी सेवनले मानसिक स्वास्थ्यलाई सहयोग गर्न सक्नेछ ।
सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरेर गरिएको अध्ययनले सामान्यतया कम मात्रामा फलफूल र तरकारी खाने वयस्कहरूलाई आफ्नो सेवन बढाउन मार्गनिर्देशन समेत गरेको छ ।
केही सहभागीलाई दिनमा ५ भाग फलफूल तथा तरकारी खाने लक्ष्य पूरा गर्ने क्रममा दैनिक एक गिलास फलफूलको रस वा स्मुदी पनि समावेश गर्न भनिएको थियो।
चार हप्तापछि दुवै समूहले फलफूल तथा तरकारीको सेवन बढाएका थिए । तर, फलफूलको रस वा स्मुदी सेवन गर्ने समूहमा डिप्रेसनको स्कोर अर्को समूहको तुलनामा कम भएको पाइयो।
फ्रुट जुस साइन्स सेन्टरको सहयोगमा भएको उक्त अध्ययनको रिपोर्ट व्रिटिस जर्नल अफ न्यूट्रेसनमा प्रकाशित भएको थियो । लिभरपुल युनिभर्सिटीमा रहेकी डा.कन्ट्रेनी नेइलले मानिसहरूलाई दिनमा पाँच भाग फलफूल तथा तरकारी खाने लक्ष्य पूरा गर्न कठिन हुने बताउँदै, आर्थिक तथा शैक्षिक सहयोग पाएपछि सहभागीहरूले आफ्नो खानपानमा अर्थपूर्ण परिवर्तन गर्न सकेको बताइन्।
उनका अनुसार, दैनिक सानो गिलास फलफूलको रस वा स्मुदी जस्ता सरल र तुलनात्मक रूपमा कम खर्चिला उपायले मानिसहरूलाई लक्ष्य पूरा गर्न सहयोग गर्न सक्छ र मानसिक स्वास्थ्यमा पनि सम्भावित फाइदा हुन सक्छ।
अध्ययन सुरु हुँदा सहभागी सबैले दिनमा दुई वा त्यसभन्दा कम भाग फलफूल तथा तरकारी खाने गरेका थिए सहभागीहरूलाई तीन समूहमा विभाजन गरिएको थियो ।
तर केही प्राध्यापकहरुले फलफूलको रस पिउने सहभागीहरूमा डिप्रेसनको स्कोर घटेको निष्कर्ष आशाजनक भए पनि यसबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनीहरुका अनुसार, फलफूलको सेवन बढाउने सरल आहार परिवर्तनले मानसिक स्वास्थ्यलाई सहयोग गर्न भूमिका खेल्न सक्छ।
चार हप्तासम्म गरिएको अध्ययनले दैनिक फलफूलको रस वा स्मुदीलाई स्वस्थ आहारको हिस्साका रूपमा समावेश गर्दा फलफूल तथा तरकारीको सेवन बढाउन र डिप्रेसनका लक्षणमा केही सुधार ल्याउन सक्ने सम्भावना देखाएको छ।
तर अध्ययनमा ४२ जना मात्र सहभागी थिए र अवधि पनि चार हप्ता मात्र थियो। त्यसैले फलफूलको रस वा स्मुदीले प्रत्यक्ष रूपमा डिप्रेसन घटाउँछ भनेर निष्कर्ष निकाल्न अझ ठूलो र लामो अवधिको अनुसन्धान आवश्यक हुन्छ। -एएनआइ
