‘गौँथली’ले बदल्यो मेरो सोच, सपना पूरा गर्न विवाह : सिम्रन खड्का

No ads found for this position
No ads found for this position

काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का यतिबेला दैनिक विभिन्न स्थानमा पुगेर दर्शकमाझ चलचित्रको प्रचारमा जुटिरहेकी छन् ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले ‘गौँथली’को कथा, आफूले निभाएको पात्र, चलचित्रले दिएको जीवनदृष्टि, अभिनय यात्रादेखि नेपाली समाजका विद्यमान समस्यासम्मका विषयमा खुलेर धारणा राखिन् ।

सिम्रनका अनुसार ‘गौँथली’ कुनै एक पात्रको कथा मात्र होइन, आफ्नो सपना पूरा गर्न अनेक बाधा पार गर्दै अघि बढ्ने हरेक महिलाको प्रतिनिधि कथा हो ।

उनले भनिन्, ‘सबैको जीवनमा केही बन्ने, केही गर्ने इच्छा हुन्छ । ‘गौँथली’ पनि त्यस्तै एउटा युवतीको कथा हो, जसको सबैभन्दा ठूलो सपना भनेको पढ्नु हो । जीवनमा अनेक उतारचढाव आएपनि आफ्नो लक्ष्यबाट नडगमगाउने पात्र हो ‘गौँथली’।’

२५ वर्षअघिको विरासत बोकेको चलचित्रमा मुख्य भूमिका

२५ वर्षअघि बनेको चर्चित कथाको पुनःनिर्माण भएकाले ‘गौँथली’मा मुख्य भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण भए पनि आफूले त्यसलाई दबाबका रूपमा नभई जिम्मेवारीका रूपमा लिएको सिम्रन बताउँछिन् ।

‘मैले कहिल्यै पनि ‘मुख्य भूमिका छ, गाह्रो हुन्छ’ भनेर सोचिनँ । मेरो ध्यान पात्रलाई न्याय गर्ने र त्यसलाई पूर्ण रूपमा महसुस गरेर अभिनय गर्नेमा मात्रै थियो । तर २५ वर्षअघि नै दर्शकको मन जितिसकेको कथाको विरासत बोकेको फिल्म भएकाले चुनौती त थियो । तर हाम्रो सम्पूर्ण टिम निकै सहयोगी भएकाले काम सहज भयो,’ उनले भनिन् ।

‘गौँथली’ले बदलिदियो सोच

चलचित्रमा गाउँकी युवतीको भूमिका निर्वाह गरेकी सिम्रनका लागि घाँस काट्ने, दाउरा बोक्ने वा गाउँको जीवन पूर्ण रूपमा अपरिचित भने थिएन । बाल्यकालमा बिदाको समयमा गाउँ जाँदा यस्ता काममा रमाउने अनुभव उनले पहिले नै बटुलेकी थिइन् ।

तर चलचित्रको कथा पढ्दा भने उनले बालविवाह र बुहारीमाथिको विभेद अहिले पनि यथार्थ हो भन्ने कुरा सहजै पत्याएकी थिइनन् ।

‘पहिला मलाई लाग्थ्यो, अहिले कहाँ बालविवाह हुन्छ र ? अहिले कहाँ सासुले बुहारीलाई हेप्छन् र ? तर म पूर्ण रूपमा गलत रहेछु,’ उनले भनिन् ।

पर्वतमा छायांकनका क्रममा आफूले एउटै गाउँमा ‘गौँथली’ पात्रजस्तै तीनजना महिला भेटेको अनुभव सुनाउँदै उनले अहिले पनि बालविवाह र लैङ्गिक विभेद कायम रहेको देख्दा निकै दुःख लागेको बताइन् ।

‘हामी बाहिरबाट जे देख्छौँ, वास्तविकता त्यही नहुनपनि सक्छ । गाउँमा गएपछि मात्रै अहिले पनि बालविवाह, विभेद र महिलामाथिका धेरै समस्या यथावत् छन् भन्ने महसुस भयो । ‘गौँथली’ले मेरो सोच नै परिवर्तन गरिदियो,’ उनले भनिन् ।

अडिसनदेखि मुख्य भूमिकासम्म

सिम्रन चलचित्रमा सहायक निर्देशक गिडासमार्फत जोडिएकी हुन् । त्यसपछि निर्माता पक्षले उनलाई अडिसनका लागि बोलायो ।

‘अडिसनपछि ‘फिक्स त छैन है नानी’ भनेर भन्नुभएको थियो । पछि फोन गरेर ‘तिमी नै हुने भयौ’ भन्नुभयो । त्यो क्षण अझै सम्झन्छु,’ उनले सुनाइन् ।

मदनकृष्ण श्रेष्ठसँगको अविस्मरणीय अनुभव

‘गौँथली’मा कलाकार मदनकृष्ण श्रेष्ठसँग स्क्रिन सेयर गर्नु आफ्नो अभिनय जीवनकै महत्वपूर्ण अनुभव भएको सिम्रन बताउँछिन् ।

बाल्यकालदेखि टेलिभिजनमा हेरेका कलाकारसँग पहिलो पटक अभिनय गर्दा आफू निकै डराएको उनी सम्झिन्छिन् ।

‘मदन बा को स्वास्थ्य अवस्था सहज थिएन । सामान्य हिँड्दा पनि गाह्रो हुन्थ्यो । तर ‘एक्सन’ भनेपछि उहाँ १५–२० मिनेटसम्म उभिएर अभिनय गर्नुहुन्थ्यो । मलाई पनि राम्रो भाव आउँछ भनेर आफैँ उभिएर क्यू दिनुहुन्थ्यो। उहाँबाट धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले भनिन् ।

सेटमा मदनकृष्ण श्रेष्ठ, रविन्द्र झा र प्रकाश घिमिरेजस्ता वरिष्ठ कलाकारसँग रमाइलो वातावरण भएपनि आफ्नो पात्र अत्यन्त भावुक भएकाले अभिनयको भाव बिग्रिन नदिन आफूले धेरै हाँसोसमेत नियन्त्रण गर्नुपरेको उनले बताइन् ।

समाज परिवर्तन हुँदैछ, तर यात्रा अझै बाँकी छ

सिम्रनको बुझाइमा समाज परिवर्तनको बाटोमा अघि बढेको छ, तर पूर्ण रूपमा बदलिइसकेको छैन ।

‘पहिलाजस्तो बालविवाह अहिले कम भएको छ, परिवर्तन भइरहेको छ । तर समस्या पूर्ण रूपमा अन्त्य भएको छैन,’ उनले भनिन् ।

उनका अनुसार अझै पनि धेरै ठाउँमा ‘छोरीलाई पढाएर के हुन्छ ?’, ‘बिहेपछि किन पढ्ने?’, ‘बच्चा भएपछि सपना सकियो’ भन्ने सोच कायम छ ।

विवाह भयो, बच्चा भयो भन्दैमा सपना समाप्त हुँदैन । जुनसुकै उमेरमा पनि आफ्नो लक्ष्य पूरा गर्न सकिन्छ । त्यसका लागि मन बलियो र लक्ष्य स्पष्ट हुनुपर्ने उनले जोड दिइन् ।

‘गौँथली’ किन हेर्ने ?

सिम्रनका अनुसार ‘गौँथली’ केवल मनोरञ्जनका लागि बनेको चलचित्र होइन । यसले सामाजिक सन्देश पनि बोकेको छ ।

‘चलचित्रमा राम्रो सामाजिक र नैतिक सन्देश छ । एकैछिनमा हाँस्नुहुन्छ, अर्को क्षण भावुक बन्नुहुन्छ । प्रेमलाई पनि अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ । अटिजम भएको पात्रले कसरी प्रेम गर्छ भन्ने पक्ष पनि निकै संवेदनशील रूपमा देखाइएको छ,’ उनले भनिन् ।

सानैदेखिको सपना ‘म हिरोइन बन्छु’

अभिनेत्री बन्ने सपना आफूले बाल्यकालदेखि नै देखेको सिम्रन बताउँछिन् । ‘दशैंमा टिका लगाउँदा सबैलाई ‘इन्जिनियर बन, पाइलट बन’ भनेर आशीर्वाद दिइन्थ्यो । मलाई भने ‘हिरोइन बन्नुपर्छ’ भन्न लगाउँथेँ,’ उनले मुस्कुराउँदै सम्झिइन् । लकडाउनपछि एउटा म्यूजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेकी उनले त्यसपछि अभिनय कक्षा लिइन् । कक्षा सुरु गरेको करिब एक महिनामै चलचित्र ‘प्रेमगञ्ज’को अडिसन खुल्यो । ‘हामी त अनुभवका लागि मात्रै अडिसन दिन गएका थियौँ । तर म नै छनोट भएँ । त्यसबेला निर्देशकलाई ‘मलाई केही आउँदैन, अर्को कलाकार लिनुहोस्’ समेत भनेकी थिएँ । तर उहाँले ममाथि विश्वास गर्नुभयो,’ उनले भनिन् । उनले पहिलो अवसर दिएका निर्देशकप्रति विशेष आभार व्यक्त गरिन् । त्यसपछि ‘चित्रा’, ‘अगस्ती’ र ‘बेउली फ्रम मेघौली’लगायतका चलचित्रमा अवसर पाउँदै अभिनय यात्रालाई अघि बढाएको उनले बताइन् । अभिनयलाई अझ निखार्न उनले ‘एक्टर्स हब एकेडेमी’बाट व्यावसायिक प्रशिक्षणसमेत लिएकी छन् ।

विदेशभन्दा आफ्नै देशमा सम्भावना देख्छिन् सिम्रन

नेपालबाट विदेशिने युवाको लहरबारे बोल्दै सिम्रनले आर्थिक कारणले धेरै नेपाली बाहिरिन बाध्य भएको स्वीकार गरिन् । आफ्नै परिवारले पनि विदेश जान सुझाव दिने गरेको उनी बताउँछिन् । तर आफू भने नेपालमै आफ्नो करिअर र भविष्य देख्ने बताउँछिन् ।

‘अहिलेसम्म राम्रो काम गरिरहेकी छु, राम्रो आम्दानी पनि भइरहेको छ । एउटै लक्ष्यमा केन्द्रित भएर इमान्दारीका साथ काम गरियो भने नेपालमै पनि सम्भावना छ भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।

दर्शकप्रति आभार

चलचित्रको ट्रेलर, टिजर र गीतलाई दर्शकले दिएको मायाप्रति आभार व्यक्त गर्दै सिम्रनले ‘गौँथली’लाई एकपटक हलमा गएर हेर्न आग्रह गरिन् ।

‘हामी जहाँ–जहाँ प्रचारका लागि गयौँ, दर्शकले ‘तिम्रो फिल्म हेर्छौं’ भनेर धेरै माया दिनुभयो । त्यो मेरो लागि नयाँ अनुभव थियो । अहिलेसम्म दिनुभएको माया र साथका लागि धन्यवाद । साउन १ गतेदेखि चलचित्र प्रदर्शनमा आउँदैछ । एकपटक हेरेर जस्तो लाग्छ, त्यहीअनुसार निष्पक्ष समीक्षा दिनुहोस् भन्ने अपेक्षा छ,’ उनले भनिन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *