कोशी प्रदेशमा पूर्वमुख्यमन्त्रीले रोस्ट्रममा उक्लिएर माइक थुते
विराटनगर। संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले बुधबार कोशी प्रदेश सभामा विरोध जनाएका छन् ।
प्रतिपक्षी दलहरूको अवरोधबीच सभामुख अम्बरबहादुर विष्टले बैठक अघि बढाउन खोजेपछि पूर्वमुख्यमन्त्री एवम् नेकपा सांसद राजेन्द्र राईले हतार हतार रोस्ट्रममा उक्लिएर त्यहाँको माइक नै फ्याँक्न खोजे । सो क्रममा राईले मर्यादा पालकले रोकेका थिए ।
उनलाई मर्यादापालकहरू तत्कालै नियन्त्रणमा लिएर रोस्ट्रमबाट तल झारेका थिए ।
यस तनावपछि सभामुख विष्टले सांसदहरूलाई मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गरे । यस घटनापछि सदनमा प्रदेश सभा सदस्य राईसहितले सभामुखको कार्यशैलीको विरोध जनाए । उनीहरू र सभामुखबीच चर्काचर्की हुँदा नाराबाजी पनि चल्यो।
मंगलबारको बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन दर्ता तथा छलफलका लागि पर्याप्त समय नदिई पारित गरिएको भन्दै प्रतिपक्षी दल विरोधमा उत्रिएका छन् ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गरे । कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सोमबार पारित भएको थियो ।


