हुम्लामा पहिरोले विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो
मुगु । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठुलो क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार असिना–पानी आएपछि त्यसपछि पहिरो गएको थियो । सोही कारण गाउँको डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेको गहुँ, जौ, उवा लगायतका बालीसहित खेतीयोग्य जमिन तहसनहस बनाएको छ ।
वडा अध्यक्ष हर्कधन तामाङका अनुसार बाढीसँगै आएको पहिरोले केही गोठ पुरिएका छन् भने भेडा बाख्रामा पनि क्षति पुगेको छ । यद्यपि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन ।
वडा अध्यक्ष तामाङले भने- ‘बाढीले गाउँमा ठुलो क्षति पुर्याएको छ । क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ ।’
उनले घटना लगत्तै जिल्ला प्रशासन कार्यालय र गाउँपालिकालाई जानकारी गराइएको बताए ।
स्थानीय छक्कबहादुर तामाङका अनुसार पहिरोले वडा अध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पुरिएको छ । ‘कति भेडाबाख्रा पुरिए भन्ने यकिन भइसकेको छैन,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बाढीको सूचना पाए लगत्तै मेल्छाम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए । उनले नेप्का गाउँ दुर्गम क्षेत्रमा पर्ने र सडक सञ्जालमा नजोडिएकाले क्षतिको विवरण सङ्कलन तथा उद्धार कार्यमा कठिनाइ भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर खड्काका अनुसार नेप्कादेखि गाउँपालिकाको केन्द्रसम्म पुग्न जोखिमपूर्ण बाटोमा करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने भएकाले सुरक्षाकर्मीलाई घटनास्थल पुग्न समय लागेको हो ।


