घरबाट खेल्न निस्किएका ३ बालक एकैसाथ बेपत्ता
रौतहट । रौतहटको कट हरिया नगरपालिका-५ कट हरिया बजार क्षेत्रबाट ३ जना बालक एकैसाथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा अध्ययनरत विद्यार्थीहरू बेपत्ता भएपछि परिवारजन र स्थानीय बजार क्षेत्रमा त्रास फैलिएको छ ।
बेपत्ता हुनेहरूमा कट हरिया-५ का सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार र भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग रहेका छन् । उनीहरू गत सोमबार (वैशाख २८ गते) देखि सम्पर्कविहीन भएका हुन् ।
परिवारका अनुसार सोमबार विद्यालयबाट फर्केपछि उनीहरू ‘बाहिर खेल्न जान्छौं’ भनी घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नफर्किएपछि आफन्त, साथीभाइ र सम्भावित स्थानहरूमा खोजी गर्दा फेला नपरेपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालय कटहरियामा खोजीका लागि निवेदन दिएका छन् ।
बेपत्ता बालकहरूमध्ये सकील अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजनामा थिए भन्ने कुरा साथीहरूबाट बुझिन आएको परिवारले जनाएको छ । यद्यपि, प्रहरीले यस विषयमा कुनै औपचारिक पुष्टि गरेको छैन ।
इलाका प्रहरी कार्यालय कटहरियाका सई मोहन आले मगरका अनुसार तीनै जना बालकको तस्बिर र हुलियासहितको विवरण मातहतका सुरक्षा निकायहरूमा पठाइसकिएको छ । सीमावर्ती क्षेत्र भएकाले भारतीय प्रहरीसँग पनि समन्वय गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको र यो अपहरण हो, घरबाट भागेको हो वा अन्य कुनै कारण हो भन्नेबारे तत्काल निष्कर्षमा पुग्न नसकिने जनाएको छ ।
यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० मा तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।


