जाजरकोटका भूकम्पपीडितको माइतीघर मण्डलामा प्रदर्शन

No ads found for this position
No ads found for this position

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा व्यापक जनधनको क्षति पुर्याएको थियो। उक्त विपद्मा १ सय ५० भन्दा बढी नागरिकको ज्यान गएको थियो भने हजारौं घरधुरी प्रभावित बनेका थिए।

भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माण कार्य प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै पीडितहरूले सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार अझै धेरै परिवार टिनको टहरामै कष्टकर जीवन बिताइरहेका छन्।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारलाई दबाब सिर्जना गर्न आन्दोलन गरिएको प्रदर्शनमा सहभागीहरुले बताए। पीडितहरूले दैनिक कठिनाइ झेलिरहे पनि राज्यले पर्याप्त चासो नदिएको उनीहरुको गुनासो छ।

प्रदर्शनकारीहरूले पुनर्निर्माणलाई तीव्रता दिन ११ बुँदे मागसमेत सार्वजनिक गरेका छन्। उनीहरूले राहत तथा अनुदान वितरणमा भइरहेको ढिलाइ अन्त्य गर्न, क्षति विवरण पुनः मूल्याङ्कन गर्न, लाभग्राहीलाई शीघ्र अनुदान उपलब्ध गराउन, भूकम्प प्रतिरोधी घर निर्माणलाई सुनिश्चित गर्न तथा जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *