इलेक्ट्रिक स्कुटरमा आगलागी हुँदा ४ जना गम्भीर घाइते

No ads found for this position
No ads found for this position

वीरगन्ज । बढ्दो पेट्रोलको मूल्यबाट हैरान भई इलेक्ट्रिक मोटरसाइकल वा स्कुटर खरिद गर्ने सोचमा हुनुहुन्छ भने सावधान हुनु आवश्यक देखिएको छ । इलेक्ट्रिक सुकुटीकै कारण वीरगन्जमा एकै परिवारको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएको छ ।

घरमा चार्ज गर्न राखिएको ‘टोनमा’ कम्पनीको स्कुटरमा एकाएक आगलागी हुँदा वीरगन्ज महानगरपालिका वडा नं. १६, नगवा निवासी विशाल सर्राफ र उनका परिवारका सदस्यहरू गम्भीर अवस्थामा पुगेका हुन् ।

बढ्दो पेट्रोलको मूल्यबाट आजित भएका विशालले एक महिना अघि खरिद गरेको उक्त स्कुटरमा गए राति आगलागी हुँदा सर्राफसहित उनकी श्रीमती २६ वर्षीय अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीय छोरी इशा सर्राफ गम्भीर घाइते भई आइसियुमा भर्ना भएका छन् ।

पेट्रोलको बढ्दो मूल्यका कारण खर्च घटाउने उद्देश्यले विशालले वीरगन्जको ड्राइपोर्ट चोकस्थित कुशवाह मोटर्सबाट १ लाख ९० हजार रुपैयाँमा मधेस प्रदेश १४३४ नम्बरको उक्त इलेक्ट्रिक स्कुटर खरिद गरेका थिए । सोही स्वकुटीलाई शनिवार राति चार्जमा राखेर सुतेका बेला ब्याट्री पड्किँदा आगलागी भएको र उक्त घटनामा परिवारका सदस्यहरू घाइते भएको विशालका पिता विष्णु सर्राफले जानकारी दिए ।

आगलागीमा परी गम्भीर घाइते भएका परिवारका सदस्यहरूलाई वीरगन्जस्थित गण्डकमा रहेको बयोधा अस्पतालको आइसियुमा भर्ना गरिएको छ भने २ वर्षीय बालिकालाई सोही अस्पतालको एनआईसीयूमा राखिएको छ ।

सर्राफका अनुसार पेट्रोलको मूल्यबाट राहत पाउन खरिद गरिएको स्वकुटीले नै परिवारको ज्यान सङ्कटमा पारेको छ । हाल घाइतेहरूको उपचार पहिलो प्राथमिकतामा रहेको र त्यसपछि कम्पनीविरुद्ध कानुनी कारबाही गर्ने तयारी रहेको उनले बताए ।

यस घटनाले स्थानीय बासिन्दामा पनि त्रास फैलाएको छ । छिमेकी सुशीला देवीले यस्ता सवारीसाधन घरमा नकिन्न र प्रयोग नगर्न आफूले परिवारका सदस्यलाई सचेत गराएको बताइन् ।
उक्त घटनाबारे बुझ्दा कुशवाह मोटर्सका कर्मचारी शौरभ श्रीवास्तवले विद्युत् सटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । उनका अनुसार यस प्रकारको घटना पहिलो पटक भएको हो र यसको कारणबारे कम्पनीले पनि अनुसन्धान गर्ने जनाए ।

आगलागीमा पूर्ण रूपमा नष्ट भएको सुकुटीको क्षतिपूर्ति थर्ड पार्टी इन्स्योरेन्सबाट हुने र घरमा भएको क्षतिबारे सम्बन्धित पक्षसँग छलफल गरिने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब निरीक्षक राजु कार्कीले स्कुटरमा आगलागी हुँदा एकै परिवारका चार जना बिरामी भएको पुष्टि गरे । उनका अनुसार घरभित्र चार्जमा राखिएको स्कुटरमा आगलागी हुनुको कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

यस घटनालाई लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ भने स्वकुटीका आधिकारिक विक्रेता कुशवाह मोटर्सका सञ्चालकलाई समेत सोधपुछका लागि बोलाइएको जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *