सुरक्षा अडिट : ६ महिनामा ५ हजार बढी मुद्दा दर्ता, बैंकिङ कसुर र साइबरका सबैभन्दा धेरै

No ads found for this position
No ads found for this position

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो ६ महिनामा सम्पादन गरेका कामहरूको अर्धवार्षिक समीक्षा गर्दै सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाइएको जनाएको छ ।

परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले भाद्रको विनाशकारी घटनापश्चात क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणसँगै प्रहरी सेवालाई आधुनिक प्रविधिसँग जोडिएको जानकारी दिए । एसपी भट्टराईकाअनुसार, भाद्र २३ र २४ गतेको घटनामा काठमाडौं जिल्लाका १ सय २७ प्रहरी संरचनामध्ये ४२ वटा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । हालसम्म ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ, जसमा गौशाला, बानेश्वर र जनसेवा जस्ता महत्वपूर्ण युनिटहरू रहेका छन् ।

प्रहरीले अनुसन्धान र अभियोजनलाई चुस्त बनाउन ‘फाइल ट्रयाकिङ सिस्टम’ सुरु गरेको छ । यस अवधिमा ३० हजार ६ सय पटक फोन सम्पर्क, १ हजार ७ सय एसएमएस र १ हजार ५ सय ५० इमेलमार्फत उजुरीकर्ता र पीडितहरूसँग फलोअप गरिएको छ । ८३ हजारभन्दा बढी सेवाग्राहीको विवरण डिजिटल माध्यमबाट सुरक्षित राखिएको र नागरिक सहजकर्तामार्फत सेवा प्रवाहलाई सरलीकृत गरिएको प्रहरीले जनाएको छ ।

राजधानीमा परम्परागत अपराधको तुलनामा साइबर र आर्थिक अपराधको जोखिम बढ्दै गएको एसपी भट्टराईले बताए। काठमाडौंमा हुने कुल अपराधको ८५ प्रतिशत हिस्सा बैंकिङ कसुर, अभद्र व्यवहार र चोरी जस्ता १० वटा मुख्य कसुरले ओगटेका छन् ।

पछिल्लो ६ महिनामा ५ हजार ५ सय ६६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये बैंकिङ कसुरका मुद्दाहरू सबैभन्दा धेरै छन् । साइबर अपराधतर्फ १ हजार ३ सय ३० वटा उजुरी प्राप्त भएका छन्, जसमा अनलाइन सपिङ फ्रड प्रमुख देखिएको छ । ओटीपी चोरी र आईडी बुस्टिङका नाममा हुने ठगी पनि नयाँ चुनौतीका रूपमा देखापरेका उनले बताए ।

एसपी भट्टराईले भने, ‘मानिसहरू घरबाटै सेवा चाहन्छन्, जसले गर्दा अनलाइन सपिङ फ्रड बढ्दो छ । भर्चुअल माध्यमबाट हुने यस्ता अपराधको अनुसन्धानमा केही कानूनी र प्राविधिक जटिलता भए पनि हामीले प्रभावकारी रेस्पोन्स दिने प्रयास गरिरहेका छौं ।’

साथै, हुन्डीमा २ करोड ६३ लाख र सम्पती शुद्धीकरणमा २९ करोड बराबरको विगो दाबीसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी भट्टराईकाअनुसार, पछिल्लो ७ महिनामा काठमाडौं प्रहरीले विभिन्न सडक दुर्घटना र विपद्मा परेका २ हजार २ सय ५० जनालाई तत्काल उद्धार गरी अस्पताल वा घरसम्म पुर्‍याउने काम गरेको छ । हराएका व्यक्तिहरूको खोजी कार्यमा पनि प्रहरी सक्रिय देखिएको छ । यस अवधिमा हराएका १ हजार ४ सय जनामध्ये १ हजार २ सय १९ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ । त्यसैगरी, काठमाडौंका नागरिकको पहिचान र आर्थिक कारोबारसँग जोडिएको मोबाइल सेट हराउने दर पनि उच्च छ । हराएका ६ हजार ९० मोबाइलमध्ये १ हजार ८९ वटा सेट फेला पारी धनीलाई बुझाइएको छ ।

आत्महत्याको प्रयास गर्ने र कोठामा थुनिएर रहेका व्यक्तिहरूको रेस्क्यु तथा सडकमा रहेका असाहाय व्यक्तिहरूलाई कल्याणकारी संस्थासम्म पुर्‍याउने कार्यलाई पनि प्रहरीले निरन्तरता दिएको छ । एसपी भट्टराईले यस्ता सेवाहरू पूर्ण रूपमा निःशुल्क हुने र प्रहरीको उपस्थिति नै नागरिकको सुरक्षाको ग्यारेन्टी भएको बताए ।

२०८२ भदौ २३ र २४ गते काठमाडौंमा भएको ठूलो जनधनको क्षतिबारे बोल्दै भट्टराईले उक्त घटनामा ४९ जनाको ज्यान गएको र ४२ शवको पहिचान भई ज्यान सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको बताए ।

एसपी भट्टराईले जानकारी दिएअनुसार सो घटनासँग सम्बन्धित कुल २१० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २०९ वटाको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरिएको छ । सोही घटनाको सिलसिलामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको र हाल उनिहरू हाजिरी जमानीमा रहेको प्रहरीले जनाएको छ ।

यस घटनाका क्रममा १ सय ८१ वटा हातहतियार बरामद गरिएको छ भने फरार रहेका १ सय ६२ कैदी र ९० थुनुवालाई पुनः पक्रेर कारागार चलान गरिएको उनले बताए । प्रहरीले सीसीटीभी फुटेज, डीएनए परीक्षण र प्रत्यक्षदर्शीको बयानका आधारमा सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

राजधानीमा प्रहरीको उपस्थिति ढिलो भएको गुनासो आइरहँदा जिल्ला प्रहरी परिसर काठमाडौंले चैत्र महिनामा मात्र प्रहरीको १०० नम्बरमा २६ हजार ८ सय ८९ कल आएको बताए । जसमध्ये १० हजार ९५ वटा कलमा प्रहरी फिल्डमै पुग्नुपर्ने देखिएको उनले बताए ।

प्रहरीको तथ्यांकअनुसार ७ प्रतिशत घटनामा ५ मिनेटभित्र र २६ प्रतिशत घटनामा १० मिनेटभित्र प्रहरी पुग्ने गरेको छ । तर १८ प्रतिशत घटनामा भने प्रहरी पुग्न २५ मिनेटभन्दा बढी समय लाग्ने गरेको छ ।

भट्टराईकाअनुसार ट्राफिक जामका कारण सवारी साधन जक्सनहरूमा रोकिनुपर्ने अवस्था, भदौको घटनामा सवारी साधनहरू नष्ट भएपछि देखिएको साधनको न्युनता, चक्रपथ विस्तारका कारण पहिलेका प्रहरी बीट र साना युनिटहरू विस्थापित हुनु समस्याको कारण रहेको बताए ।

प्रहरीले आगामी दिनमा यो ‘रेस्पोन्स टाइम’ लाई १० मिनेटको औसतमा झार्ने लक्ष्य राखेको छ । यसका लागि ड्रोन पेट्रोल र साना सवारी साधनको प्रयोग बढाउन लागिएको उनले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *