सरकारलाई आर्थिक वर्षको समय परिवर्तन गर्न मेयर महर्जनले दिए सुझाव
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारसँग सो प्रश्तावको माग गरेका हुन् ।
मनसुनी वर्षा र त्यो भन्दा अघिको समयमा कुनैपनि आयोजनाको डिजाईन, इष्टिमेट र टेन्डर आह्वान गर्ने र त्यस बाहेकको समयमा निर्माणको काम गर्न मिल्ने गरी आर्थिक वर्षको समय परिवर्तन गर्न उपयुक्त हुने उनको तर्क थियो ।
सरकारले विकास, निर्माणको काममा आमूल परिवर्तन हुनेगरी काम गर्नुपर्ने मेयर महर्जनको भनाई थियो । सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराए । कुनैपनि आयोजनाहरुको काम समयमा सम्पन्न नहुनुमा सो ऐन मुख्य कारण रहेको औल्याउँदै मेयर महर्जनले त्यसमा तत्काल संशोधन गरेर अघि बढनुपर्नेमा जोड दिए ।
उनले भने- ‘यो सरकारले परिवर्तन व्यापक रुपमा गर्नुपर्दछ । त्यो मध्य वाई अफ द प्वाईन्ट चाहीँ फिस्कल एयर चेन्ज गरौँ न । फिस्कल एयर चेन्ज गर्दा पेपर वर्क गर्नुपर्ने टाईमका लागि प्रि मन्सुन र मनसुन पिरियडमा पेपर वर्क गरौँ । डिजाईन, ईष्टिमेट, टेन्डर आदि । अरु सुधारिएको समयमा चाहीँ कन्सट्रक्सनको काम गर्न मिल्ने गरी फिस्कल एयरलाई चेन्ज गरौँ । यो भन्दा अगाडिको सरकारलाई पनि मैले भनेको थिएँ । अब मैले माननीय मन्त्रीज्यूलाई पनि यो सुझाव दिए । अनि दोस्रो कुरा, खरिद ऐन २०६३ । नेपाल अहिलेको यो अवस्थामा पुगिरहनुको वान आफ दी रिजनलाई खरिद ऐन, २०६३ हो । यो मुलुकमा २८ वटा राष्ट्रिय महत्वका योजनाहरु छ । कुन चाँही टाईमा सिद्धियो ? कुन चाहीँ अन कष्टमा सिद्धियो ? कहिल्यै पनि समयमा सिद्धिएको छैन । हेर्दाखेरी नै लथालिंग, भताभुंग छ । काठमाडौंबाट बाहिर कतै जानु पर्यो भने गाडीमा जाने अधिकांश मानिसहरुले रामराम भनेर जानुपर्छ । किनभने बाटोको कन्डिशन खत्तम छ । त्यसकारण यो सार्वजनिक खरिद ऐन २०६३ मा आमुल परिवर्तन गरौं ।’
मेयर महर्जनले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न सक्ने अवस्था नभएकाले त्यसलाई पनि अनुकूल हुनेगरी विद्यमान कानूनमा संशोधन आवश्यक रहेको बताए ।


