एकै दिन ४५ विपद्का घटना, ३ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं । देशभर सक्रिय मनसुनका कारण पछिल्लो २४ घण्टामा पहिरो, बाढी, चट्याङ, सर्पदंश, अविरल वर्षा र आगलागीलगायत ४५ वटा विपद्का घटना भएका छन् । ती घटनामा तीन जनाको मृत्यु, २५ जना घाइते भएका छन् भने विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै करिब १२ लाख २७ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३५ जिल्लामा विपद्का ४५ घटना भएका छन । ती घटनामध्ये १५ वटा पहिरो, नौ वटा सर्पदंश, पाँच वटा अविरल वर्षा, चार–चार वटा बाढी, आगलागी, चट्याङ तथा जनावर आक्रमणका घटना रहेका छन्।

प्राधिकरणका अनुसार पहिरो र चट्याङका घटनामा एक–एक तथा सर्पदंशबाट एक गरी तीन जनाको ज्यान गएको छ। विभिन्न घटनामा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा जोखिम व्यवस्थापनका लागि नेपाल प्रहरीका २०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मनसुनको प्रभाव निरन्तर रहेकाले देशका नौ स्थानमा सडक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । पहाडी जिल्लामा पहिरो र तराईका केही क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर सञ्चालनमा रहेका ३७१ वर्षा मापन केन्द्रमध्ये २७० केन्द्रमा वर्षा भएको छ। सबैभन्दा बढी १४०.४ मिलिमिटर वर्षा नवलपरासी (पूर्व) को देउराली–नवलपुर केन्द्रमा मापन गरिएको छ । निरन्तर वर्षासँगै नदी–नाला र खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ ।

तापक्रमतर्फ रुपन्देहीको भैरहवामा सबैभन्दा बढी २८.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम तथा कैलालीको धनगढीमा ३६.२ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ । सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको थाकमार्फामा ११.५ डिग्री सेल्सियस र कम अधिकतम तापक्रम सोलुखुम्बुको लुक्लामा १९ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि साउन १ गतेसम्म देशभर ३ हजार ३४७ विपद्का घटना भएका छन् । ती घटनामा १६३ जनाको मृत्यु, एक जना बेपत्ता तथा ९७२ जना घाइते भएका छ् । सबैभन्दा धेरै आगलागीका ९०२, सर्पदंशका ५२५, हावाहुरीका ४७७, पहिरोका ४४९ र चट्याङका २२७ घटना अभिलेख भएका छन् ।

मनसुन अझै सक्रिय रहेकाले पहिरोको जोखिम भएका पहाडी क्षेत्र, नदी तटीय बस्ती तथा डुबान हुने स्थानका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा मौसम र सम्बन्धित निकायबाट जारी सूचना नियमित रूपमा पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *