‘अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा हुन्’: प्रधानसेनापति सिग्देल

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षार्थ अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय रहेको बताए ।

उनले नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रश्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न आग्रह गरे ।

नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिए ।

प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भुमिकाले संस्थालाई विश्वमै विश्वसनीय र सम्मानित बनाएको बताए ।

हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको समेत उनले प्रशंसा गरे । स्थानीयस्तरमै सृजनशील र उद्यमी बन्न आग्रह गर्दै उनले कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको बताए ।

प्रधानसेनापति सिग्देलले भने, ‘नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राष्ट्रकीकरणको इतिहास देखि नै अतुलनीय योगदान पुर्‍याउँदै आएको व्यहोरा हामी सबैलाई विदितै छ । तसर्थ हाम्रा वीर पुर्खाहरूले गर्नुभएको बलिदानलाई स्मरण गर्दै यस संस्थालाई वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाको रूपमा थप विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने दायित्व हामी सबैको साझा भएको तथ्य पनि यहाँहरूलाई स्मरण गराउन चाहन्छु । देशको सार्वभौमिकताको रक्षार्थ नेपाली सेनाले वहन गरेको भूमिका लगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा गरेको योगदानले आज नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित गरेको छ भने विश्व सामु नेपाल र नेपालीको शीर उच्च राख्न समेत उल्लेखनीय योगदान दिएको छ । ’

सम्मेलनमा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो । यस वर्षको सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *