नेविसंघ कांग्रेसको सन्तान हो: महामन्त्री घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएका छन् ।
आईतबार नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै पार्टी कार्यालय सानेपामा महामन्त्री घिमिरेले नेपालको इतिहासबाटै नेपाल विद्यार्थी संघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुने बताए ।
नेविसंघको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न नसक्ने उनले बताए । वि.सं. २०२७ सालमा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन र प्रजातन्त्रको पुनःस्थापना गर्न नेविसंघको स्थापना भएको स्मरण गर्दै उनले कतिपय सन्दर्भमा पार्टी भन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको उल्लेख गरे।
महामन्त्री घिमिरेले पछिल्लो समय नेविसंघका गतिविधिहरुलाई पार्टीले सुक्ष्म रुपमा नियालिरहेको बताए । मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट नयाँ दलहरुको उदय भएको सन्दर्भमा नेविसंघको भुमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेको उनको भनाइ छ ।
उनले नेपालमा ४० वर्ष मुनिका झन्डै १ करोड २० लाख युवा जनमत रहेको तथ्यलाई औंल्याउँदै कुनैपनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने बताए ।
नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका अन्य भ्रातृ संस्थाहरुका विषयमा पनि पार्टीले संस्थागत निर्णय गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । आईतवार बिहान नेविसंघ आस्थावान कार्यकर्ताहरुको टोलीले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि तथा वर्तमान नेतृत्वद्वारा सञ्चालित घटनाले संगठन र पार्टी दुवैको गरिमामा आँच पुर्याएको आरोप लगाउँदै ज्ञापन पत्र बुझाएको छ । गणपूरक संख्याको न्युनतम उपस्थिति समेत नभएको बैठकले निर्णयय गर्नु अवैधानिक हुने उनीहरुको ठहर छ ।


