बाजुरामा वर्षाका कारण विद्युत अवरुद्ध, उच्च हिमाली क्षेत्रमा हिमपात

No ads found for this position
No ads found for this position

बाजुरा । बाजुरामा शुक्रबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ । बिहीबार साँझबाट मौसममा आएको परिवर्तनसँगै शुक्रबार बिहानदेखि वर्षा सुरु भएको हो ।

वर्षासँगै जिल्लाका उच्च हिमाली तथा लेकाली भू-भागमा पुनः हिमपात भएको छ । माघ र चैत महिनामा गरी यस वर्ष बाजुरामा चार पटक हिमपात भएको छ । माघमा भारी हिमपात भएको थियो भने चैतमा बेसी क्षेत्रमा वर्षा र उच्च क्षेत्रमा हिमपात हुँदै आएको छ ।

लगातारको वर्षापछि उच्च हिमाली तथा लेकाली क्षेत्रहरू हिउँले सेताम्य बनेका छन्। बडीमालिका, गौमुल, हिमाली, त्रिवेणी र बुढीनन्दा लगायतका पालिकाका उच्च क्षेत्रहरूमा हिमपात भएको छ भने अन्य पालिकामा वर्षा भइरहेको छ ।

वर्षा र हिमपातका कारण किसानहरू भने उत्साहित भएका छन्। हिउँदे बाली सप्रिने र फलफूल खेतीमा समेत राहत पुग्ने भन्दै स्थानीय कृषकहरू खुसी भएका कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

यता, लगातारको वर्षाका कारण सडकखण्डहरू हिलाम्मे बनेका छन्। मार्तडीदेखि पूर्वी–उत्तरी भेग जाने सडकमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।

त्यस्तै, विद्युत आपूर्ति पनि अवरुद्ध बनेको छ । वर्षाका कारण विद्युत लाइनमा समस्या आएपछि बिहानैदेखि सेवा प्रभावित भएको छ ।

चिसो अत्यधिक बढेपछि स्थानीय प्रशासनले घरभित्रै बस्न, न्यानो कपडा प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *