कालीबाबाले भने- रास्वपालाई बधाई, नेपाल मेरो मातृभूमि भएकाले विकास र समुन्नतिका पक्षमा लागि रहन्छु
काठमाडौं । अन्तर्राष्ट्रिय सन्त महामण्डलेश्वर स्वामी श्रीश्री १००८ बाबा कालीदास कृष्णानन्द परमहंसजी महाराज (कालीबाबा) ले नेपाल समुन्नति, सुशासन र राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको बताएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सार्वजनिक भएपछि भिडियो सन्देश जारी गर्दै कालीबाबाले दुईतिहाइ जनादेश प्राप्त हुनुले नेपाली नागरिकको शान्ति, सुशासन र राजनीतिक स्थिरताको चाहना मतमार्फत अभिव्यक्त भएको बताएका हुन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहित सबै दलका विजयी उम्मेदवारलाई बधाई ज्ञापन गरेका हुन्।
‘नेपालका नवयुवाले भ्रष्टाचार, बेथिति र कुशासनको दुष्चक्रबाट देशलाई मुक्त गर्न आन्दोलन गरेका हुन्। जेनजी आन्दोलनको कार्यादेशलाई अनुमोदन गर्दै जनताले एकल बहुमत दिएका छन्। रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहित सबै विजयी उम्मेदवारलाई बधाई र शुभकामना व्यक्त गर्दछु। मतदाताले सुम्पिएको जिम्मेवारी पाँच वर्षमा पुरा हुने विश्वास पनि राखेको छु,’ कालीबाबाले भनेका छन्।
धर्मगुरू कालीबाबाले नेपाललाई सुशासन, आर्थिक उन्नति र विकासको मार्गमा अघि बढाउन अब बन्ने बलियो सरकारले नवीनतम् अवधारणासहित महत्त्वपूर्ण कार्यक्रम ल्याउनुपर्ने बताए। उनले धार्मिक पर्यटनलाई अझै बढाउनुपर्नेमा जोड दिँदै यसका लागि आफ्नो सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका छन्।
‘आर्थिक उन्नतिका लागि धार्मिक पर्यटनको विकासमा सरकारले ध्यान दिनुपर्छ, नेपाल मेरो मातृभूमि हो, भारत कर्मभूमि हो। नेपालको विकास र समुन्नतिका पक्षमा म सधैँ लागिरहेको छु। भारतका धार्मिक अभियन्ता एवं सनातन धर्म मान्ने श्रद्धालु र धार्मिक यात्रामा रुची राख्ने भक्तजनलाई पशुपतिनाथ मन्दिर दर्शनका लागि जान प्रोत्साहित गर्नेछु। नयाँ सरकारलाई धार्मिक क्षेत्र र सन्त समाजबाट पूर्ण सहयोग रहने छ,’ कालीबाबाले भनेका छन्।
कालीबाबाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु र रास्वपा विजयी हुनुलाई नेपालको इतिहासमा स्वर्णिम मोडका रूपमा व्याख्या गरेका छन्। उनले यस जीतलाई केवल एउटा राजनीतिक दलको विजय मात्र नभइ नेपाली जनताको परिवर्तनप्रतिको तीव्र चाहनाको परिणाम भएको बताएका छन्।
‘नेपाल अब सुशासन, समुन्नति र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गरेको छ । युवा नेतृत्वको हातमा देशको बागडोर पुग्नुले विकासको नयाँ सम्भावनाको उद्घोष भएको छ । अबको समय देश निर्माणको हो । नागरिकको चाहनाबमोजिम उन्नति गर्ने बेला हो,’ कालीबाबाले भनेका छन्।
कालीबाबाले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री सुशीला कार्की र नेपाल सरकारप्रति धन्यवादसहित आभार व्यक्त गरेका छन्।


