‘कांग्रेसको झण्डा बोकेर घण्टीमा भोट दिई गगनको राजीनामा माग्ने अन्तरघाती हुन्’
काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंहका एवम् नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति सुरेन्द्र बहादुर सिंहले कांग्रेसका सभापति गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरू कांग्रेसको झण्डा बोकेर घण्टीमा भोट दिने अन्तर्घाती व्यक्तिहरू भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्,’गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरू नेपाली कांग्रेसको झण्डा बोकेर घण्टीमा भोट दिने अन्तर्घाती व्यक्तिहरू हुन् ।’
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही ४ बाट हार व्यहोरेपछि पार्टीकै कार्यकर्ताहरूले थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनिरहेका छन् ।
सभापति थापालाई सर्लाहीमा ल्याउने नै बिरेन्द्र र सुरेन्द्र रहेको चर्चा छ । निर्वाचनमा हारेपछि झन् उनीहरूले नै सभापतिलाई सर्लाही ल्याएर हराए भन्दै यहाँका कार्यकर्ता झनै आक्रोशित भएको दाबी गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८० फागुन १५ गतेको सुरेन्द्रलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ महिना १५ दिन कैद सजाय तोकेको थियो ।
उनीमाथि सिसौको रुख कटान गर्दा ती रुख बेचेर रकम हिनामिना गरेको आरोप थियो । उनीसँग विशेषले सो मुद्दामा १ करोड २३ लाख ६ सय ६ रुपैयाँ असुल गरेको थियो, जुन सर्वोच्चले पनि सदर गरेको छ ।


