‘प्रवासी जीवन’ आजबाट प्रदर्शनमा
काठमाडौं । आजबाट फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । निर्वाचनका कारण यो समय अन्य निर्माताले आफ्नो फिल्म प्रदर्शनमा चासो नदेखाएको कारण यो फिल्मले एकल प्रदर्शनको अवसर पाएको हो ।
यद्यपि, देशभरका हल यो फिल्मले मात्र पाएको छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका नेपालीसहित केही विदेशी फिल्मले पनि निरन्तरता पाइरहेका छन् ।
‘प्रवासी जीवन’ अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सङ्घर्ष र सफलताको कथामा निर्माण भएको हो । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा मिलेर निर्देशन गरेका हुन् ।
राजेश हमालको मुख्य भूमिका रहेको फिल्ममा प्रवासीहरूको सुख दुःख, आरोह–अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाइएको छ । फिल्ममा राजेशको अलवा सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रिकोटी लगायतका कलाकारहरूको अभिनय छ ।


