कर्णाली चुनावी सभालाई सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने
सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतमा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । प्रतिज्ञा पत्र सार्वजनिकपछि कांग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो।
बिहीबार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापतिद्धय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीले जानकारी दिए ।
आमसभाका लागि कर्णालीका सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरुलाई सुर्खेत आउन कांग्रेसले आव्हन गरेको छ ।
सुर्खेतमा हुने आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा माहोल बनाउन मदत पुग्ने कांग्रेसको बुझाई छ । आमसभाको प्रचार प्रसार व्यापक गरिएको र ठूलो संख्यामा मानिसहरु सभामा सहभागि हुने महामन्त्री केसीले बताए । आमसभाका लागि उपसभापतिद्धय शर्मा र भुसाल काठमाडौबाट र सभापति थापा सर्लाहीबाट सुर्खेत आउने कार्यक्रम छ ।
सुर्खेत नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला हो । खड्काले चुनाव लड्दै आएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा बिष्णुबहादुर खड्का उम्मेदवार बनेका छन् ।
आफ्नै भाइ चुनाव लडेका भए पनि खड्का चुनाव प्रचारमा सुर्खेत आएका छैनन् । विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि त्यसविरुद्ध निर्वाचन आयोग र अदालत गएका खड्कालाई चुनाव प्रचारमा आउन नसकेको बताइएको छ ।


