ओराङबासीको सडक सपना पूरा गर्ने अजयबाबु्को प्रतिबद्धता

No ads found for this position
No ads found for this position

दोलखा । नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि यस्तो ऐक्यबद्धता जनाएका हुन् ।

हाल ओराङमा सडकको पहुँच पुग्न नसक्दा स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरिरहेको छ । मोटरबाटोको ट्र्याक ओराङ नजिकै आए पनि बीचमा रहेको दौलाङ भीर छिचोल्न नसक्दा गाउँ सडक सञ्जालबाट काटिएको छ । यसकै कारण विगुको वडा नम्बर १ बाट वडा नम्बर २ मा जानका लागि सिंगटी पुगेर घुमेर आउनुपर्ने बाध्यता रहेको छ।

‘ओराङबासीको मुख्य माग नै यो सडक खण्डको निर्माण हो । धेरै जनप्रतिनिधिहरूसमक्ष यो माग पुगिसकेको रहेछ, अहिले हामीसँग पनि स्थानीयले यही आग्रह गर्नुभएको छ,’ घरदैलोका क्रममा शिवाकोटीले भने, विगतमा आश्वासनमात्र पाएका ओराङबासीका लागि यो बाटो निर्माण गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ। उहाँहरूको मागमा मेरो पूर्ण ऐक्यबद्धता छ।’

शिवाकोटीले यो सडक निर्माणलाई आफ्नो चुनावी एजेन्डाको प्राथमिकतामा राखेको बताउँदै निर्वाचित भएपछि ओराङलाई सडक सञ्जालमा जोडेर त्यहाँको आर्थिक र सामाजिक विकासमा लाग्ने विश्वास दिलाएका छन् ।

त्यस्तै यता, दोलखाको विगु गाउँपालिका–४, लादुकमा नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)परित्याग गरी दर्जनौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार निर्वाचन अभियानका क्रममा लादुकको गुम्बडाँडामा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरू कांग्रेसमा समाहित भएका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपाका प्रविन तामाङ, दिनेश नेपाली र दिपेन्द्र नेपाली रहेका छन्। त्यसैगरी, नेकपा एमाले परित्याग गरी राम तामाङ, सुशान्त गिरी, कृष नेपाली, विक्रम ओली र टेकबहादुर तामाङ लगायतका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *