विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् ।
मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन् । सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप निःशुल्क रुपमा उपलब्ध गराएको छ । सो खोप लिन र त्यसलाई व्यवस्थित रुपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डंगोलको आग्रह थियो ।
उनले सो खोप अभियान काठमाडौ महानगरपालिका भित्रका सबै विद्यालयहरुमा संचालन भईरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरुलाई आग्रह गरिन् । सरकारले पाठेघरको मुखको क्यान्सरबाट धेरैको ज्यान जान थालेपछि त्यसको प्रतिरोधको लागि यो भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउने कामलाई अभियानकै रुपमा सञ्चालन गरेको हो । सो अभियानबाट लाभ लिन पनि काठमाडौं महानगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।


