कुहिरो र हुस्सुले मधेसको जनजीवन प्रभावित: सडकमै आगो ताप्दै स्थानीय
जनकपुर। मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ । तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको छ ।
बिहानको समयमा दृश्यता निकै कम हुने भएकाले सवारी साधनहरूको गति सुस्त भएको छ । सडकमा हेडलाइट बालेर पनि गाडी चलाउन कठिनाइ भइरहेको चालकहरूले बताएका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ ।
जनकपुर विमानस्थलमा पनि कुहिरोका कारण उडानहरू प्रभावित भएका छन् । यसअघि नै तराईका विभिन्न विमानस्थलहरू (जनकपुर, भैरहवा र सिमरा) खराब मौसमका कारण बन्द भएको थियो । कुहिरो र हुस्सुले दैनिक कामकाजमा समेत असर परेको छ ।
बिहानको समयमा बजार, स्कुल र कार्यालयहरूमा मानिसहरू ढिलो पुग्ने गरेका छन् । चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू बढेका अस्पतालहरूले जनाएका छन् । विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन् । मौसम विज्ञान विभागकाअनुसार तराई क्षेत्रमा कुहिरो र हुस्सु केही दिनसम्म कायम रहने सम्भावना छ । विभागले शतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ । जनकपुरवासीहरूले कुहिरोका कारण दैनिकी कष्टकर बनेको गुनासो गरेका छन् ।
यो मौसमी प्रभाव तराईका अन्य शहरहरूमा पनि उस्तै देखिएको छ । मौसम सुधार नभएसम्म जनजीवनमा यस्तै असुविधा कायम रहने भएकाले शतर्कता अपनाउन आग्रह गरिएको छ ।
चिसोले बालबच्चालाई विद्यालय जान कठिन भएको छ भने सामान्य जनजीवन चलाउन समेत समस्या भएको छ । व्यापार व्यवसाय ठप्प छ । मानिसहरु चिसोले घरबाहीर निस्कन सकेका छैनन् । स्थानीयले केही समय सार्वजानिक विदा दिन समेत आग्रह गरेका छन् ।
चिसो बढेपछि स्थानीयले सडक, चोकमा दाउरा बालेर आगो ताप्न थालेका छन् । चिसोबाट बच्न जनकपुर महानगरपालिकाले ध्यान नदिएको जनकपुरका स्थानीय बासिन्दाले गुनासो छ । उनीहरुले चिसोबाट जोगिनको लागि स्थानीय सरकारले चोक-चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा राम्रो हुने बताएका छन् । चिसोबाट बच्नको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।


