निर्बाध रूपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइसक्यो: गृहमन्त्री अर्याल
कैलाली । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भइसकेको बताएका छन् ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीका क्रममा कैलालीको धनगढी पुगेका गृहमन्त्री अर्यालले निर्वाचन तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुने बताए । उनले राजनीतिक दललाई निर्बाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइरहेको बताए ।
उनले भने, ‘सरकारको मुख्य जिम्मेवारी निर्वाचन नै हो । भयरहित र शान्तिपूर्ण रुपमा निर्वाचन तोकिएकै समयमा हुन्छ । यो साझा सरकार हो । हामी कसैलाई पनि विभेद गर्दैनौं । कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ।’
गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी लगायत सहभागी छन् ।


