कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ मा गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले १५ महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो ।
लामो छलफलपछि आज सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा पार्टीको १५ औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
प्रवक्ता महतले भने, ‘नेपाली कांग्रेसको १५ महाधिवेशन २०८२ पौष २६, २७ र २८ गते हुनेगरी देहाय बमोजिमको कार्यतालिका केन्द्रीय कार्य समितिमा पेश भयो । र त्यो सर्वसम्मतिबाट अनुमोदन भएको छ । यसमा हामीले मंसिर २० गते भित्रै क्रियाशील सदस्य, नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने छौं। जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समितिहुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि २४ गते र, पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्र, नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गरिसक्ने छौं । त्यसपछि क्रियाशीय सदस्यताको प्रारम्भिक छानविन समिति गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रिय छानविन समितिमा क्रियाशील सदस्यता, नयाँ र नविकरण सम्बन्धि परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यता नयाँ र नविकरणको अन्तिम सुचि तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने मिति पुस १४ गते ।’
यस्तै उनले नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशिता, नयाँ युवा पुस्ता, अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था गरिएको बताए ।
उनले भने, ‘विदेशस्थित जनसम्पर्क समितिबाट पनि प्रतिनिधित्व हुने व्यवस्था भएको हुनाले पुस १५ गते भित्र विदेशस्थित जनसम्पर्क समितिको पनि अधिवेशन गरिसक्नुपर्ने निर्णय पनि यहाँ भएको छ । त्यस्तै गरेर केन्द्रीय महाधिवेशन मातहतको विभिन्न तहमा अधिवेशनको कार्यतालिका यस प्रकार छ । गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, प्रदेश अधिवेशन पुस २३ र २४ गते, केन्द्रिय महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने कार्यतालिका पारित भएको छ ।’
कांग्रेसले सो महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति र केन्द्रीय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ । पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर ती समितिहरुको गठन गर्ने पनि निर्णय गरिएको प्रवक्ता महतले बताए ।


