धनकुटाको पाख्रीबासमा माइक्रो दुर्घटना : एक जनाको मृत्यु
धनकुटा । धनकुटाको पाख्रीबासमा हाइस माइक्रो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
धनकुटाको पाख्रीबास नगरपालिका-५ भैँसेस्थित काठमाडौंबाट खाँदबारीतर्फ आउँदै गरेको बा ४ ख ५५०२ नम्बरको हाइस दुर्घटना भएको हो । दुर्घटना परि संखुवासभा सभापोखरी-२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो ।
माइक्रो सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि घटनास्थलमा ईलाका प्रहरी कार्यालय पाख्रीबासका प्रवक्त नारायणप्रसाद भट्टराईको कमाण्डमा प्रहरी टोली पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।
उद्धार गरिएका सबै घाइतेहरूलाई उपचारका लागि प्रहरीले जिल्ला अस्पताल धनकुटा पठाएको छ । घाइते हुनेमा धनकुटा महालक्ष्मी–३ प्रहरी जवान सुजता गिरी, संखुवासभा सिलिचुङ–३ को सगीता राई र नरेन्द्र राई, संखुवासभा पाँचखपन–९ का लमु शेर्पा, उदयपुर लिम्चुङबुङ–१ का निर्जला राई र बिनिता राई जेसन राई, सिन्धुलीका सन्तबहादुर तामाङ, भोजपुर साप्लासिलिचुङ–५ पासाङ शेर्पा, खाँदबारी–७ का रत्नबहादुर विक र सबारी चालक दिपेन्द्र बुढाथोकी रहेका छन् ।
घाइते चालक दिपेन्द्र बुढाथोकी र रत्नबहादुर विकलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा रेफर गरिएको छ ।
तस्बिर: कविराज घिमिरे


