५ हजार फरार कैदी पक्राउ गर्न बाँकी छ : गृहमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरुमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो बताएका हुन्। उनका अनुसार जेनजी आन्दोलनको क्रममा १४ हजार ५ सय ५४ जना भागेकोमा ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको छ ।

उनले भने, ‘भाद्र २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट १४ हजार ५ सय ५४ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ४ सय ४१ जना फिर्ता ल्याइसकिएको छ । अहिले ५ हजार १३ जना पक्राउ गर्न बाँकी रहेको छ । उहाँहरुलाई हामीले पटक-पटक सूचना निकालेर आउन आग्रह पनि गरेका थियौं । फरार कैदीबन्दीहरुलाई पक्राउ गर्नको लागि निजहरुको सूची सार्वजनिक गरिएको छ । त्यस्ता फरार कैदीहरु सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायमा पत्रचार गरिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोज तलास तिब्रता दिइएको छ । त्यस्ता सुरक्षा निकायमार्फत समेत फरार कैदी पक्राउ गर्न विशेष अपरेसन चलाउने कार्यलाई समेत अगाडि बढाइएको छ । फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा लिई सरकार गम्भीरतापूर्वक अगाडि बढेको छ । सम्पूर्ण चुनौतीहरुलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ । र यसमा सर्वसाधारण लगायत सबैको साथ र सहयोग अपरिहार्य रहेको छ ।’

उनले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्रसहित निशुःल्क उपचारको व्यवस्था मिलाइएको बताए । उनले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको पनि बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *