आगजनीबाट क्षति भएको कार्यालय सरसफाइमा जुट्यो तरुण दल (तस्बिरहरु)

काठमाडौं । नेपाल तरुण दलले आगजनीबाट क्षति भएको कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज सरसफाइ सुरु गरेको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा तरुण दलका केन्द्रीय सदस्यहरू, विभिन्न जिल्लाको तहमा रहेका अन्य तरुणहरू सहित पार्टी कार्यालयको सरसफाइ गरेका हुन् ।
नेपाली कांग्रेसको आह्वानमा भातृ सङ्गठन, शुभेच्छुक सङ्गठनलाई आह्वान गरेबमोजिम तरुण दल अध्यक्ष विद्वान गुरुङ सहितको टोलीले पार्टी कार्यालय सरसफाइ अभियानमा लागेका हुन् ।
भूकम्पको बेला प्रयोग गरिएका निर्माण सामाग्री, कवचहरू जावेल, साबेल, फोहोर बोक्ने कराई, स्वयंसेवकलाई निलो ज्याकेट, पन्जा, हेलमेट लगायत सामाग्री तरुण दल केन्द्रीय समितिले उपलब्ध गराइ सरसफाइ कार्यक्रम गरिएको अध्यक्ष गुरुङले बताए ।
अध्यक्ष गुरुङले पार्टी कार्यालय सरसफाइ अभियानमा जुट्न सम्पूर्ण तरुणहरूलाई आह्वान समेत गरेका छन् ।
पार्टी कार्यालयको प्रारम्भिक लगत सङ्कलन अनुसार करिब दस करोड बराबरको क्ष्यती भएको पार्टीको सूचना विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले गत भदौ २४ गते मंगलबार मध्याह्न कांग्रेस कार्यालयमा आगजनी गरेका थिए।
आन्दोलनकारिले ढुंगामुढा गरेर झ्यालका सिसा तोडफोड गर्दै उनीहरूले आगजनी गरेका थिए।