पार्टी भित्रको एकतालाई खलबल्याउने गतिविधि भए तरुण दलले रोक्नुपर्छ : सिटौला

काठमाडौं । नेपाल तरुण दलले जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा पार्टीका शीर्ष नेताहरूको घरमा भएको आगजनी र धनजनको क्षति बुझ्न उनीहरूको घरमा पुगी अवलोकन र विवरण लिन सुरु गरेको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा आज नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको घरमा आगलागी भएको बारेमा अवलोकन गरे ।
अवलोकन पछि महामन्त्री सिटौलाले अध्यक्ष गुरुङसँग तरुण दललाई वैचारिक रूपले एकमत भएर अगाडि बढ्न निर्देशन दिए ।
सिटैलाले भने, ‘तरुण दरुण दल भित्र स्पष्ट भएर एकता निर्माण गर्नुस् । पार्टी भित्रको एकतालाई खलबल्याउने र निरुत्साहित पार्ने खालका कुनै पनि गतिविधि आउँछन् भने त्यस विरुद्ध तपाईंहरु लाग्नुस् । इतिहास देखि के देखिन्छ भने जति बेला राष्ट्रमा सङ्कट पर्छ कांग्रेस नै अगाडि आएको छ देश बचाउनका लागि । जति बेला प्रजातन्त्र सङ्कटमा पर्छ त्यसलाई बचाउन पनि कांग्रेसनै अगाडि आएको छ र कांग्रेस कै नेतृत्वमा देशमा आएका सारा समस्याको समाधान भएको छ । त्यासकारण हामीसँग ठुलो जिम्मेवारी र कार्यभार छ ।’
यस्तै सिटौलाले तरुण दललाई राष्ट्र निर्माणकोलागि सबै एक जुट भएर लाग्न निर्देशन दिएको तरुण दल केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले जानकारी दिए ।
जेनजी आन्दोलनले पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरूको घरमा आगजनी भएको छ ।