बजारमा चहलपहल बढ्यो, यस्तो छ कर्फ्यू बारे सेनाको नियम

काठमाडौं । जेनजी प्रदर्शनकारीले गरेको आन्दोलनपछि नेपाली सेनाले लगाएको कर्फ्यू हटाउँदै गएको छ । कर्फ्यू हटैसँगै बजारमा चहलपहल देखिएको छ।
बिहान ६ बजेदेखि ११ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक कामका लागि आवतजावतमा छुट दिएपछि चहलपहल बढेको हो। सेनाले शुक्रबार साँझसमेत ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि समय दिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भने निषेधाज्ञा हुनेछ।
निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन।
यो समयमा एम्बुलेन्स, शव वाहन, सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक कामका व्यक्तिलाई आफ्नो परिचय पत्र बोकेर हिँडडुल गर्न पाइने सेनाको सूचनामा उल्लेख छ।
सेनाले साँझ ७ बजेपछि भने कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू शनिबार बिहान ६ बजेसम्म रहने छ। सेनाले परिस्थितिलाई नियन्त्रणमा लिएर निषेधाज्ञा र कर्फ्यूको समय बढाउँदै आएको छ।