बासना थापाको प्रश्न: जनतालाई ग्याससमेत दिन नसक्नु यो कस्तो सुशासन हो ?
काठमाडौं । नेपाली कांग्रेस सांसद बासना थापाले सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले जनताले राहत र सिटामोलसमेत नपाउने तथा सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको बताइन्।
उनले भनिन्- ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकोप्टरबाट काठमाडौं ल्याइन्छ,। मन्त्रीलाई काठमाडौं ल्याउन लाखौँ खर्च गर्न सक्ने सरकारले तीन लाख खर्च गरेर जनतालाई राहत दिन सक्दैन?’
बिहान–बेलुकाको छाक टार्नसमेत कठिनाइ भोगिरहेका जनतालाई एउटा सिलिन्डर ग्याससमेत दिन नसक्नु कस्तो सुशासन हो ? भन्दै उनले सरकारप्रति प्रश्न उठाइन्।
उनले भनिन्- ‘सरकारले कान थापेर सुनोस्,मन्त्रीको जीवन जत्तिकै मूल्यवान् कर्णालीका नागरिकको जीवन पनि हो,’उनले भनिन्,‘प्रधानमन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकले अस्पताल नपाउने? के यही जनताको सरकार हो?’
एकातिर ‘एक्सप्रेस वे’को कुरा गर्ने र अर्कोतिर कर्णालीमा औषधि तथा राहतसमेत नपुग्ने अवस्था रहेको भन्दै थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन्। ‘के यही हो सरकारको असल सुशासन?’उनले प्रश्न गरिन्।
