प्रधानमन्त्री कार्यालयमा राज्यका संयन्त्र कब्जा गर्न बसेका गिरोहका सदस्य छन् : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई ९ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा थुनेर दबाबमा पक्राउ पुर्जी जारी गर्न निर्देशन दिएको घटनाप्रति आपत्ति जनाएका छन्।
उनले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन? भनि प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहको हुकुमी जङ्गलराज जन्माउँदै छौँ? भन्दै प्रश्न गरे।
प्रधानमन्त्री कार्यालयमा बसेकाहरु नेपालको संविधान र कानुन नचिन्ने, केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य भएका बताए ।
उनले भने, ‘अख्तियारका अधिकारीहरू मात्र होइन, एकजना विदेशी राजदूतमाथि समेत प्रधानमन्त्री कार्यालयमा दुर्व्यवहार भएको भन्ने आरोप सार्वजनिक भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर भ्रष्टाचारका कुनै पनि घटनामाथि छानबिन गर्नुपर्छ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र नभइ संवैधानिक अङ्ग भएको बताए।
उनले आज प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने? भन्दै प्रश्न गरे।


