कर छलीमा सक्रिय बीवाईडी ब्रान्डका ईभी, ७७४ गाडी प्रहरी नियन्त्रणमा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्रान्डका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशङ्कामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो ।

बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सबै गाडी बीबाईडी ब्रान्डका रहेको उनले बताए ।

उनले अधिकांश सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘करको दर हेरफेर भएको सूचना लिक भएको आशङ्कामा थप छानबिनका लागि सवारीसाधन नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘छानबिनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही अघि बढाइनेछ ।’

यस विषयमा थप जानकारी लिन विद्युतीय गाडीको ब्रान्ड बीवाईडी नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनको मोवाईल स्वीच अफ रहेको थियो । प्राप्त सूचनाअनुसार भन्सारका कर्मचारी, भन्सार एजेन्ट तथा व्यापारीबिचको सम्भावित मिलेमतोमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै सवारीसाधन जाँच पास गरी भित्र्याइएको आशङ्कापछि सरकारी निकायहरू सक्रिय भएका थिए ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनसम्बन्धी कर संरचनामा हेरफेर गरेको छ । सोही परिवर्तनबाट लाभ लिन बजेटअघि ठुलो सङ्ख्यामा सवारीसाधन आयात गरिएको हुन सक्ने आशङ्कामा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *