‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर झुक्यो, यो दुःखद र खेदजनक छ’

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन् ।

संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई दुःखद र खेदजनक भएको बताए।

उनले भने, ‘संसारभरमा एउटा राष्ट्रप्रमुख यस्तो देखियो जसले हामीले अरुको सिमाना मिचेको छौँ भन्ने अभिव्यक्ति दिनुभयो । मिचेको हो कि होइन भन्नु कुरा सरकारसँग माग गर्छौँ । प्रधानमन्त्री बालेनले अरुको सिमाना हामीले मिचेको छौँ भन्नु दुःखदजनक छ, खेदजनक छ ।’

राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा सम्बन्धी दाबीलाई कमजोर बनाएको जिकिर गरे ।

उनले भने, ‘हाम्रो मिचिएको भूमिहरूमाथि दाबी गर्दा यहाँले कमजोर सावित गर्ने नजिर स्थापना गरिदिनुभयो । हिजोको सरकारलाई गलत भन्थ्यौँ तर हिजोको सरकारले कहिल्यै सीमा मिचेको भनेको थिएन ।’

यस्तै, नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पर्याप्त अध्ययन र तथ्यबिना नेपालले भारतको भूमि मिचेको निष्कर्षमा पुग्न नसकिने बताए।

उनले नेपाल–भारत खुला र लामो सीमा भएका कारण कतिपय स्थानमा सीमांकन तथा व्यवस्थापनका विषयहरू हुनसक्ने बताए।

उनले भने, ‘नेपालले भारतको सीमा मिचेको कुरा अध्ययन नगरी भन्न सकिँदैन । त्यस्तो तथ्य मैंले बुझेको छैन । धेरै ठाउँमा जोडिएको भू–भाग भएको देश भएकाले एकअर्काका सीमाहरू व्यवस्थित गर्नुपर्ने वा यताबाट उता र उताबाट यता मिलाउनुपर्ने विषय हुन सक्छन् । यसमा दुवै पक्ष बसेर गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले कुन सेन्समा कसरी भन्नुभयो भन्ने कुरा पनि बुझ्नुपर्छ ।’

त्यसैगरी नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले दुई देशको सिमानाको विषयमा, नेपाल र भारतको बीचको सिमानाको विषयमा जे जवाफ दिनुभएको छ, यसले देशको शिर झुकेको छ । हामी नेपालीहरू गम्भीर भएका छौँ ।’

नेपाल–भारत सीमा र विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भूमि भएको भन्दै उनले सरकारको दायित्व आफ्नो भूमिमाथिको अधिकार स्थापित गर्नु भएको बताए ।

‘नेपालको भूमि रक्षाको लागि नेपालीहरूले उठाइरहेका आवाजहरू र कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि नेपालको हुनुपर्छ र सरकारद्वारा आफ्नो भूमिमाथिको अधिकार स्थापना गरिनुपर्छ भन्दा नेपालले समेत भारतको भूमि मिचेको रहेछ, म प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्ने अभिव्यक्तिले सबै नेपालीको शिर झुकेको छ,’ उनले भने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *