बझाङका जनता अन्धकारमा बस्नुपरेको छ,तत्काल सब स्टेसन निर्माण होस्: सांसद महर
काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत उत्पादन भइरहे पनि स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले बझाङको विद्युत अवस्था र सञ्चार सेवाको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराएका हुन् ।
उनले भने, ‘गत फागुन २१ गते सम्पन्न भएको निर्वाचन अगाडि सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू मेरो गृह जिल्ला बझाङमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पर्यटन दूत बनेर बझाङ जानुभयो र बझाङको बुगंल नगरपालिकाको बिजगडामा उहाँ बस्नुभयो । उहाँ बसेको रात त्यो दिन हावाहुरी आयो । बिजुली पनि गयो । त्यो भोलिपल्ट देखि नेटवर्क, फोनको नेटवर्क पनि चलेन । मैले यो कुरा यहाँ किन भनेको भने बझाङ जिल्लामा जब हावाहुरी जान्छ, फोनको नेटवर्क पनि चल्दैन, बिजुली पनि केही दिनसम्म आउँदैन ।’
सांसद महरले बझाङमा ७० मेगावाट भन्दा बढी विद्युत उत्पादन भइ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए पनि जिल्लाका ४० प्रतिशतभन्दा बढी जनता अझै पनि बिजुलीको पहुँचबाट टाढा रहेको र अँध्यारोमा बस्न बाध्य भएको तथ्य पेस गरे । ‘बझाङमा पर्याप्त विद्युत उत्पादन भइरहेको छ, तर स्थानीय जनता अन्धकारमा बस्नुपरेको छ,’ उनले भने ।
उनले समस्या समाधानका लागि बझाङमा तत्काल सबस्टेसन निर्माण गर्न र सञ्चार सेवा सहज बनाउन सरकारसँग जोडदार माग गरेका छन् ।
उनले बिजुली र सञ्चार सेवाको समस्या निराकरण गरी बझाङबासीलाई उज्यालोमा बस्ने वातावरण सिर्जना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।


